रौतामाईमा कर्मचारी पोशाक अनिवार्य 

२0७९ जेष्ठ २५ बुधबार
रौतामाईमा कर्मचारी पोशाक अनिवार्य 

उदयपुर

मंगलबार विहानको ११ः०० बज्दै थियो, रौतामाई गाउँपालिकामा एकजना महिला कार्यालय प्रमुुखको कार्यकक्ष छिरिन् । शिष्टाचारपछि उनले साथमा ल्याएको निवेदन प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङको टेबलमा राख्न खोजिन् । गुरुङले एकछिन आफु व्यस्त भएको संकेत गर्दै केहीबेर पर्खन आग्रह गरे । 

 


प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सेवाग्राहीको बाक्लै भिड थियो । एकपछि अर्कोको काम गर्दागर्दै झण्डै १५/२० मिनट बित्यो । ती महिलाको मनोविज्ञानले प्रष्ट देखाईरहेको थियो कि उनलाई निकै हतार छ । अन्य सेवाग्राही हिडिसकेपछि गुरुङले सोधे ‘तपाँईको के थियो भन्नुहोस् ?’ महिलाले उत्तर फर्काईन् ‘एउटा निवेदन छ सर, विदा स्वीकृतिको ।’ गुरुङले ठाडै भनिदिए ‘तपाँईको निवेदन म लिन्न, बिदा पनि स्वीकृत हुदैन ।’ हाकिमको जवाफले अलमलमा परेकी ती महिलाले जिज्ञासा राखिन् ‘किन सर, मैले केही बिगारेँ कि ?’ 


नजिकै रहेकी अर्की महिला कर्मचारी बबिता परियारलाई हाकिम गुरुङले प्रष्ट्याउन आग्रह गर्दै सोधे ‘किन होला मेडम तपाँई नै भनिदिनुस् त उहाँलाई !’ उनी पनि केही निमेष त अल्मलिईन् र भनिन् ‘पोशाक नलगाएर हो कि सर ?’ ‘बिलकुल, बिलकुल’ हाकिम गुरुङले थपे ‘हाम्रो कार्यालयका हरेक कर्मचारीको पोशाक अनिवार्य हुनुपर्छ, तपाँई कर्मचारी मान्छे पोशाक नलगाई किन आउनु भयो ? त्यसैले तपाँईको निवेदन म लिन्न भनेको हुँ ।’ टेबलसँगै जोडिएको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी)को माउस चलाउँदै गुरुङ भन्दै गए ‘हेर्नुस् कार्यालयमा रहेका हरेक शाखा र फाँटका कर्मचारीहरु पोशाकमा छन् कि छैनन् ? कर्मचारी पोशाकमा छन्, जो पोशाक लगाएका छैनन्, उनीहरु सेवाग्राही हुन् । पोशाक नभएपछि कर्मचारी र सेवाग्राही कसरी छुट्याउने ? पोशाक नलगाई आउनलेलाई चिन्नेले पो कर्मचारी भन्छन्, नचिन्ने ले त सेवाग्राही नै ठान्छन्, कर्मचारी भन्दैनन् ।’ 

 


ती महिला कर्मचारीले वर्षा भईरहेकाले पोशाक नलगाई आउनु परेको बाध्यता सुनाउँदै अवदेखि जहिल्यै पोशाकविना नआउने वाचा गरिन् । गुरुङले पोशाकको महत्वप्रति सचेत गराउँदै आफ्नो कुरामा अन्यथा नलिन आग्रह गरे । निवेदनमा तोक लगाई दिए र सम्बन्धित फाँट जान सुझाए । आधाघण्टापछि आउँदा ती महिला कर्मचारी पोशाकमा सजिएर हाजीर भईन् । गुरुङले ढाडस दिदै भने ‘हो, यस्तो हो नि तरिका । कर्मचारी र सेवाग्राही छुट्याउन सहज होस् भनेर राज्यले पोशाक भत्ताको व्यवस्था गरेको छ । त्यसैले सबै कर्मचारीले कार्यालय समयसम्म अनिवार्य पोशाक लगाउनु पर्छ । नलगाए कारबाही हुन्छ । तपाँईको पत्र तयार भईसकेको छ, सम्बन्धित फाँटमा पसेर बुझ्नुस् ।’ 


राज्यले खर्च गरीगरी पोशाक किनिदिएपछि त्यसको सदुपयोग गर्नुपर्ने अधिृकत गुरुङको राय छ । गाउँपालिकामा कर्मचारी धेरै हुन्छन्, व्यक्तिपिछे चिनेर साध्य नहुने भएकाले पोशाकको व्यवस्था सरकारले गरेको उनको बुझाई छ । खासगरी सभा, समारोह, गोष्ठी, छलफल, कार्यक्रम र धेरै संख्यामा हुने जमघटहरुमा कर्मचारी र गैरकर्मचारी चिन्न र परिचालन गर्न सहज होस् भनेर पोशाकको व्यस्था गरिएको भन्दै यसको भरपुर सदुपयोग गर्नुपर्ने उनको तर्क छ । साधारण पहिरनमा कर्मचारी र सेवाग्राही छुट्याउन गाह्रो हुने भएकाले कर्मचारीले अनिवार्य पोशाक लगाउन गुरुङले सचेत गराएका छन् ।