सुर्ति नखाउँ, क्यान्सर लाग्ला !

२0७९ जेष्ठ १७ मंगलवार
सुर्ति नखाउँ, क्यान्सर लाग्ला !

उदयपुर

तपाँई चुरोट, खैनी, गुट्खा, पराग के केको लत छ ? यो लत भए सक्भर छिटै छाड्नुस् । किन कि सुतिजनय पदार्थको सेवन नै क्यान्सर रोगको मुख्य स्रोत भएको पुष्टि भएको छ । ‘विश्व धुम्रपान दिवस’को अवसरमा नेपाल अबुद्र्ध रोग निवारण संस्था उदयपुरले मंगलबार उदयपुरमा अयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपालमा सुर्तिजन्य पदार्थ सेवनबाट क्यान्सर हुने गरेको बताइएको हो । 


समग्र क्यासर रोगीमध्ये वार्षिक ८५ प्रतिशत सुर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको संस्थाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य निगम कोईरालाले कार्यक्रममा बताए । रामजानकी माध्यमिक बिद्यालय मोतिगडामा आयोजित ‘सुर्तिजन्य पदार्थ र वातावरण’ विषयक अन्तरक्रियामा कोईरालाले यस्तो तथ्यांक पेश गर्दै सकेसम्म सुर्तिजनय पदार्थको सेवन र प्रयोग गर्न छाडेर क्यान्सरबाट बँच्न सुझाए ।


उनले क्यान्सर लाग्नुको कारणमध्ये १५ प्रतिशत वंशानुगत र अन्य कारण हुने भए पनि बाँकी सबै सुर्तिजन्य पदार्थको सेवन र प्रयोगबाट हुने गरेको पाइएको बताए । उनका अनुसार वार्षिक २७ हजार बढी मानिसको सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको छ । सुर्तिजन्य पदार्थ सेवाका कारण विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरकेो र जसमध्ये ७० लाख धुम्रपान गर्नेको र १२ लाखको मृत्यु चुरोट खानेहरुसँगै बस्नेहरुको धुँवाले मृत्यु हुने गरेको कोईरालाले बताए ।  


कार्यक्रममा पूर्व मन्त्री हरिशंकर परियार, सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल, नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्का, जिल्ला प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्य, उदयपुर अस्पताल प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. मुकेश झा, रामजानकी माविका प्रधानाध्यापक पुन्यबहादुर कार्की, संस्थाका सचिव सुमन परियार, सदस्य बंशबहादुर कार्कीलगायतले सुर्तिजन्य पदार्थले मानव स्वास्थ्य र वातावरणमा गर्ने हानी नोक्शानीबारे सचेत गराउन सामुहिक अभियान चलाउनुपर्नेमा जोड दिएका थिए । 


आयोजक संस्थाका अध्यक्ष लेखबहादुर श्रेष्ठले पछिल्लो समय धुम्रपानको चलन युवा पींढीमा बढ्दै गएको पाइएको भन्दै त्यसलाई नियन्त्रण र न्यूनिकरण गर्न बालबालिकादेखि नै सचेत गराउन अभिभावक, शिक्षक र युवा विद्यार्थीले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।