त्रियुगा ४ र ५ मा काँग्रेसका वडाध्यक्ष 

२0७९ जेष्ठ १४ शनिबार
त्रियुगा ४ र ५ मा काँग्रेसका वडाध्यक्ष 

उदयपुर

त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसको विजयी सिलसिला निरन्तर चलिरहेको छ । मेयर र उपमेयरमा अग्रतासाँगै १६ मध्ये गणना भईसकेका ९ वडामा ५ वटामा काँग्रेसका वडाध्यक्षसहित बहुमत सदस्य विजयी भईसकेका छन् । 


हालसम्म नेकपा (माओबादी केन्द्र)ले ३ वडा र एमालेले एउटा वडाध्यक्ष जितिरहेको छ । काँग्रेसले १, २, ३, ४ र ५ तथा १३ .नंं मा वडाध्यक्षसहित बहुमत जित्दा माओबादीले १४, १५ र १६ मा भने प्यानलै वडाध्यक्ष जितेको छ । एमालेले २ नं. वडामा मिश्रीत सदस्यसहित वडाध्यक्ष जितेको छ । 


१ मा काँग्रेसका मनोज चौधरी, २ मा एमालेका घमानसिंह खत्री, ३ मा काँग्रेसकै तिलक कटुवाल, ४ मा पनि काँग्रेसबाटै बद्री बस्नेत, ५ र १३ मा पनि क्रमशः उद्धव थापा र नविन चौधरी काँग्रेसकै वडाध्यक्ष जितेका छन् । माओबादीबाट १४ मा हिमराज मगर, १५ मा गणेश तिम्सिना र १६ मा मानबहादुर राई वडाध्यक्ष निर्वाचित भएका छन् । 


निर्वाचितमध्ये १ का चौधरी, २ का खत्री, ५ का थापा र १६ का राई वडाध्यक्षमा दोहोरिएका हुन् । दोहोरिन खोज्ने ३ नं. का वडाध्यक्ष अवधेश चौधरी, ४ का सुबास निरौला र १३ की पशुपति चौधरी भने अर्को कार्यकालका लागि जनताबाट अनुमोदित हुन सकेनन् । उनीहरु तीनैजना पहिलेको चुनावमा एमालेबाट विजयी भएका थिए ।  ३ र १३ बाट उठेका चौधरीद्वय यसपटक एकीकृत समाजबादीबाट उठेका थिए भने ४ मा निरौला एमालेबाटै उठेका थिए । 


मेयर र उपमेयरमा पनि काँग्रेसले अग्रता कायम राखेको छ । हालसम्म गणना भएको मतबाट काँग्रेससका उम्मेदवार बसन्त बस्नेत एमालेका भागवत राउतभन्दा १ हजार ९ सय ४८ को मतान्तरले अगाडि छन् । बस्नेतलाई ९ हजार ३ सय ८२ मत आउँदा एमालेका राउतलाई ७ हजार ४ सय ३४ मत परेको छ । गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजबादी)का बलदेव चौधरीलाई ६ हजार ८ सय १२ मत मात्र परिरहेको निर्वाचन अधिकृतको कार्याययले जनाएको छ । 


त्यसैगरी उपमेयरतर्फ काँग्रेसकै सरिता राई अग्रभागमा छिन् । तर, उनी भने २ सय १० मतले मात्र अघि छिन् । राईले ८ हजार ४ सय ३ मत पाउँदा एमालेकी महेश्वरी राईलाई ८ हजार १ सय ९० मत आईरहेको छ । गठबन्धन उम्मेदवार नेकपा माओबादी केन्द्रकी गीता खड्का कार्कीले ५ हजार १ सय ८० मत पाईरहेकी छिन् । 


जिल्लाको सबभन्दा ठूलो नगरपालिका त्रियुगामा ६० हजार ४६ मतदातामध्ये २० हजार ८५ महिलासहित ३८ हजार ४ सय ५ मत खसेको छ । जसमध्ये २७ हजार १ सय ७५ मत गणना भईसकेको छ । अहिलेसम्म वडा नं. १, २, ३, ४, ५, १३, १४, १५ र १६ को मत परिणाम घोषणा भईसकेको छ । हाल ६, ७, ८ र ९ नंं को गणना भईरहेको छ । 


सदरमुकाम गाईघाट र बोक्से समेटिएका १०, ११ र १२ नं. तथा ९ को मत गणना भने बाँकी छ । शनिबार रातिसम्ममा १० नं. वडाको मत गणना सकिने अनुमान गरिएको छ । वैशाख ३० गते मतदान हुँदाहुँदै रोकिएको १२ नंं वडाको मत भने गन्न बाँकी छ । वर्षासागै केन्द्रमा बिबाद भएपछि दिउँसो ४ः३० बजे मतदान स्थगित भएको सूचना निर्वाचन अधिकृतले निकालेको भए पनि निर्वाचन आयोगको निर्र्दशनपछि ११ दिनपछि गणना थालिएको हो । 


स्थगित मतदान सुचारु गरेर मताधिकार दिलाउनुपर्ने माग गर्दै असन्तुष्ट पक्षबाट सर्वोच्च अदालत र उच्च अदालत बिराटनगरमा छुट्टाछुट्टै रिट परेका छ । एकीकृत समाजबादीका मेयर उम्मेदवार बलदेव चौधरीले सर्वोच्च गुहारेका छन् भने प्रदेश सांसद सुनिताकुमारी चौधरीले उच्च अदालत गुहारेकी छिन् । दुवै रिटमाथि सुनुवाई नहुँदै निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि गन्ने क्रम चलिरहेको हो ।