त्रियुगा १४ र १५ मा पनि माओबादीको प्यानलै, १ मा काँग्रेस, २ मा एमाले

२0७९ जेष्ठ १२ बिहीबार
त्रियुगा १४ र १५ मा पनि माओबादीको प्यानलै, १ मा काँग्रेस, २ मा एमाले

उदयपुर

१६ नं. मा अत्याधिक बहुमत ल्याएर वडाध्यक्ष जितेको नेकपा (माओबादी केन्द्र) ले त्रियुगा नगरपालिकाका थप २ वटा वडा प्यानलै जित्न सफल भएको छ । पछिल्लो नतिजा अनुसार वडा नं. १४ र १५ मा माओबादीले प्यानलै जितेको छ भने १ नं. मा नेपाली काँग्रेस र २ मा एमालेका वडाध्यक्ष जितेका छन् । 


१४ नं. मा हिमराज मगर ६ सय ६२ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन् । यसअघि वडा सदस्य रहेका मगरले वडाध्यक्ष जित्न निकटम प्रतिस्पर्धी एमालेका मेघजित राईलाई ५ सय १ मतमा सीमित गर्नु पर्यो भने नेपाली काँग्रेसकी गीताकुमारी थापामगरलाई १ सय ४ मतमा । 


उता अर्को १५ न. वडामा पनि माओबादीकै गणेशप्रसाद तिम्सीना ९ सय ६१ मत ल्याएर प्यानलै जितेका छन् । उनका निकटतम प्रतिस्पर्धी यसअघिका वडाध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार नीरकुमार मगरले ६ सय ७२ ल्याए भने एमालेका गिरीराज बस्नेतलाई ३७ मतमा चित्त बुझाउनु परेको छ । 


यो जितसँगै त्रियुगाका १६ मध्ये ३ वडामा माओबादीको प्यानलै आएको छ । १६ नं. वडामा मानबहादुर राईले कुल खसेको मतको ६४ प्रतिशत हिस्सा ओगट्दै वडाध्यक्षमा प्यानलै विजयी भएको घोषणा अघिल्लो दिन नै भईसकेको छ । 


काँग्रेस र एमालेले १÷१ वडा जितिरहेका छन् । १ नं. वडामा काँग्रेसका मनोजकुमार चौधरी ७ सय २६ मत ल्याएर वडाध्यक्ष दोहोर्याएका छन् भने स्वतन्त्र उम्मेदवार नारायण ढकाललाई ४ सय ८३ मत प्राप्त भएको छ । एमालेका दिलिपकुमार चौधरीले ४ सय ४५ मत पाएका छन् । 


उता एमालेले वडा नं. मा जितेको छ । २ मा यसअघिकै वडाध्यक्ष घमानसिंह खत्री १ हजार ५१ मत ल्याएर दोहोरिएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका टीकाराम बुढाथोकीले ९ य ९२ मत पाउँदा एकीकृत जसमाजबादीका रामश्रेष्ठ चोधरीले ४ सय १२ मत पाए । 


त्रियुगामा मेयर र उपमेयरमा भने माओबादीले एकीकृत समाजबादीसँग गठबन्धन गरेको छ । पछिल्लो परिणाम अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजबादीका बलदेव चौधरी र उपमेयरमा काँग्रेसकी सरिता राई अगाडि छन् ।  चौधरीले ३ हजार ४ सय ७२ मत पाईरहँदा काँग्रेसका बसन्त बस्नेतले ३ हजार ३ सय २४ मत ल्याएर पछ्याईरहेका छन् । एमालेका भागवत राउतले भने २ हजार ३ सय ६१ मत ल्याईरहेका छन् । 


उपमेयरमा काँग्रेसकी सरिता राईलाई ३ हजार ४२ मत पर्दैगर्दा गठबन्धन उम्मेदवार माओबादीकी गीता खड्का कार्कीले २ हजार ८ सय ५७ मतले पछ्याईरहेकी छिन् । एमालेकी महेश्वरी राईले २ हजार ६ सय १३ मत पाउँदैछिन् । १६ वटा वडामध्ये हालसम्म १,२, १४, १५ र १६ नं. को नतिजा सार्वजनिक गरिसकेर हाल ३ र १३ को मत गणना भईरहेको छ । 


त्रियुगामा जम्मा ६० हजार ४६ मतदाता रहेकोमा ३८ हजार ४ सय ५ खसेको छ । जसमध्ये हालसम्म १० हजार ५ सय ५४ मत गणना भईसकेको छ भने त्यसमध्ये १ हजार ५ सय १४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।