नातिले हजुरआमालाई छप्काए

२0७९ जेष्ठ १२ बिहीबार
नातिले हजुरआमालाई छप्काए

उदयपुर

यहाँका एक युवाले आफ्नै हजुरआमालाई छप्काएर प्राण लिएका छन् । जिल्लाको  कटारी नगरपालिका ७ रिस्कुका २७ वर्षीय रोहित दनुवारले आफ्नै हजुरआमा ७२ वर्षीया धनी भन्ने मनमाया दनुवारको आज विहान हत्या गरेका हुन् । 


रोहितले हजुरआमालाई घरमै विहान ५ बजे धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गर्दा घट्नास्थलमै प्राण गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इप्रका प्रमुख डिएसपी मानबहादुर राईका अनुसार खुकरी प्रहारबाट बृद्धाको घाँटी छिन्न मात्र बाँकी छ । 


घट्ना घटाएर भागेका आरोपित रोहित विहान ९ बजे पक्राउ परिसकेको डिएसपी राईले बताए । जग्गा सम्बन्धी बिबाद रहेकाले एकल महिला बृद्धा घरमा एक्लै रहँदा रोहितलाई हत्या गर्न सहज भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपी विस्तृत कारण भने अहिले नै खुलिनसकेको उनले बताए । 


रोहित काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी केहीवर्ष वैदेशिक रोजगारीमा विदेश बसेर फर्केको बताइएको छ । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरी मृतकको लास पोष्टमार्टमका लागि कटारी अस्पतालमा बुझाएको जनाएको छ ।