त्रियुगामा माओबादीले खाता खोल्योः १६ नं. वडाध्यक्षमा राई

२0७९ जेष्ठ ११ बुधबार
त्रियुगामा माओबादीले खाता खोल्योः १६ नं. वडाध्यक्षमा राई

उदयपुर

नेकपा (माओबादी केन्द्र) का नेता मानबहादुर राई त्रियुगा नगरपालिका १६ को वडाध्यक्षमा दोहोरिएका छन् । ०७४ को स्थानीयतह निर्वाचनमा विजयी राई यस पटकको चुनावमा अत्याधिक बहुमत ल्याएर वडाध्यक्ष दोहोरिएका हुन् । 


माओबादी त्रियुगा नगर कमिटी उपाध्यक्षसमेत रहेका राईले नगरपालिकामा पार्टीको तर्फबाट खाता खोल्दै ९ सय ३२ ल्याएर विजयी भएका हुन् । उनी खसेको कुल मत १ हजार ४ सय ७६ को ६४ प्रतिशत हिस्सा लिन सफल भएका छन् । उनको भागमा परेको थप ७७ मत भने बदर भएको छ । 


राईका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर मगर ३ सय ३१ मतमा सीमित हुन पुगे भने एमालेका विष्णुकुमार मगर १ सय १६ मतमा चित्त बुझाउन बाध्य भए ।  त्रियुगामा मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजबादी)सँग गठबन्धन गरेको माओबादी एकल लडेको १६ नं. वडामा प्यानलै जितेको छ । 


जस अनुसार माओबादीका उम्मेदवारहरु महिला सदस्य गोमा ढुंगाना कार्की ८ सय ८० मत पाएर जितेकी छिन् भने दलित महिला सदस्य कुन्ती परियारले ८ सय ७५ मत पाएकी छिन् । खुल्ला सदस्यमा घमानसिंह राईले ८ सय ४८ पाएर जिते भने  रामनारायण श्रेष्ठले ८ सय २८ मत पाएर सदस्य जितेका छन् । 


दिउसोको नतिजा अनुसार १ मतले पछि परेका काँग्रेसका मेयरका प्रत्यासी बसन्त बस्नेत अहिले ११ मतले अगाडि बढेका छन् । १ हजार ३ सय ६८ मत पाईरहेका बस्तेतभन्दा गठबन्धनका तर्फबाट एकीकृत समाजबादीका उम्मेदवार बलदेव चौधरीले १ हजार ३ सय ५७ मत पाईरहेका छन् । एमालेका प्रत्यासी भागवत राउतलाई ८ सय ६२ मत परिरहेको छ । 


१, २ र १६ नं. वडाको गणना भईरहेकोमा १६ को नतिजा आईसकेको, १ र २ को परिणाम अन्तिम चरणमा पुग्दै गर्दा १५ नं. को गणना थालिएको छ भने अर्को टोली बनाएर ३ नं. को गणना पनि थालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।