कटारी मेयरमा गठबन्धका श्रेष्ठ र उपमेयरमा एमालेकी खड्का विजयी

२0७९ जेष्ठ ११ बुधबार
कटारी मेयरमा गठबन्धका श्रेष्ठ र उपमेयरमा एमालेकी खड्का विजयी

उदयपुर

कटारी नगरप्रमुखमा गठबन्धनबाट उठेका नेपाली काँग्रेसका राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । उपमेयरमा भने नेकपा (एमाले)की गीता खड्का विजयी भएकी छिन् । 


बुधबार विहान सार्वजनिक परिणाम अनुसार श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ ल्याएका छन् भने एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५ मात्र पाएका छन् । माओबादीबाट टिकट नपाएपछि बरालले बागीमा उम्मेदवारी दिएका हुन् । एमाले उम्मेदवार श्रेष्ठ यसअघिकै मेयर हुन् ।


त्यसैगरी काँग्रेसबाट बागी उठेका बालकृष्ण थापाले २ हजार १ सय ५४ मत पाएका छन् भने एमालेबाट बागी उठेकी भीमकुमारी राउतलाई ४ सय ४२ मत परेको छ । राउत यसअघिकी उपमेयर हुन् । चुनावमा पहिलो पटक भाग लिएको मंगोल नेश्नल अर्गनाईजेसन (एमएनओ)का मेयर उम्मेदवार प्रेमबहादुर मगरले १ सय ५३ मत पाउँदा राप्रपाका पुष्पराज भण्डारीले ९६ र नेपाल मजदुर किसान पार्टीका चन्द्रबहादुर कार्कीलाई १५ मत परेको छ । 


स्वतन्त्र उम्मेदवारहरु बराल माओबादीका प्रदेश कमिटी सदस्य हुन् भने राउत पनि एमालेकी प्रदेश सदस्य हुन् । यसअघिको चुनावमा मेयरमा एमालेबाट पराजित बराल टिकटको अन्तिम दौडसम्म रहे पनि गठबन्धन गर्दा काँग्रेसको मेयर भागमा परेपछि स्वतन्त्र उम्मेदवारी हालेका थिए । त्यस्तै यस अघिकी उपमेयर राउतले पनि अन्तिमसम्म मेयरमा दावी गरेकोमा पहिलेकै मेयर ज्ञानेन्द्र श्रेष्ठलाई पार्टीले टिकट दिएपछि बागी हालेकी हुन् । 


उपमेयरमा गीता खड्का झण्डै २ हजार ६ सय मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय १३ मत ल्याउँदा प्रतिस्पर्धी माओबादीका विनोद कटुवाल ३ हजार ८ सय २१ मतमा चित्त बुझाउनु परेको छ । उपमेयरका स्वतन्त्र उम्मेदवार नेकपा एसका हृदय तामाङले ३ हजार ७ सय २३ मत पाएका छन् भने अर्का स्वतन्त्र कृष्ण थापाले ३ हजार ३ सय ४६ मत ल्याएका छन् । 


मेयरमा पराजित भएको एमालेले वडाध्यक्षतर्फ भने धेरै ठाउँ कब्जा जमाएको छ । १४ वडा रहेको कटारी नगरपालिकामा एमालेले ७ वटा वडामा जित्दा, काँग्रेसले ३, माओबादीले १, एकीकृत समाजबादीले १ र स्वतन्त्रले २ स्थान जितेका छन् । 


१ नं. मा एमालेका पदमलाल मगर वडाध्यक्ष विजयी हुँदा ५ नं. मोहन तामाङ, ६ मा प्रेमबहादुर मगर, १० मा क्षेत्रबहादुर खड्का, ११ मा अनन्त हायु, १३ मा शम्भु श्रेष्ठ र १४ नं. मा अम्बर मगर विजयी भएका छन् । ३ स्थान जितेको काँग्रेसबाट २ नं. मा प्रेमबहादुर थापा, ४ मा पुष्कर खड्का र ७ मा सुविन ढुगाना वडाध्यक्ष भएका छन् । 


यसअघि ३ वडा जितेको माओबादीले यसपटक १२ नं. वडामा सीमित हुनु परेको छ । १२ माओबादीका यम्बरबहाुदर कटुवालले पार्टीको अस्तित्व कायम राखेका छन् भने एकीकृत समाजबादीले १० नं. वडामा बेगबहादुर मगरलाई वडाध्यक्ष जिताउन सफल भएको छ । स्वतन्त्रबाट वडा नं. ४ मा भूपेन्द्रसिंह तामाङ र ८ नंं मा नविन्द्रकुमार तामाङ वडाध्यक्ष चुनिएका छन् ।