त्रियुगा १२ को स्थगित मतदान खारेज, गणना थालियो

२0७९ जेष्ठ १0 मंगलवार
त्रियुगा १२ को स्थगित मतदान खारेज, गणना थालियो

उदयपुर

११ दिनअघि रोकिएको त्रियुगा नगरपालिका वडा नंं. १२ मा स्थगित मतदान प्रक्रिया निर्वाचन आयोगले अवैध ठहर्याएको छ । वैशाख ३० गते भएको चुनाव बिबादपछि ४ः३० बजे स्थगित भएको सूचना मतदान अधिकृतले जारी गरे पनि निर्वाचन आयोगले त्यसलाई मान्यता नदिएपछि मंगलबारदेखि मत गणना थालिएको छ । 


मतदान हुँदाहुँदै दिउँसो एक्कासी वर्षा भएपछि लाईन लागेका मतदाता तितरबितर भएका थिए । तर, नङमा मसीको संकेत लगाईसकेका मतदाताहरु वर्षापछि फर्केर आउँदा उनीहरुको मतपत्र गायब भएपछि बिबाद उत्पन्न भएको थियो । उनीहरुको मतपत्र मतदान अधिकृतलगायत कर्मचारीले आफै भोट हालेको आशंका गर्दै बिबाद भएपछि रोकिएको चुनाव पुनः हुनुपर्ने माग हुँदै आउको थियो । 


बिबादपछि मतदानस्थल पुगेका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिृकत र राजनीतिक दलका प्रतिनिधिबीच भएको सर्वदलीय छलफल हुँदा मतदान प्रक्रिया स्थगित भएको सूचना जारी गर्ने निर्णय भएको थियो । तर, ११ दिनपछि आएर स्थगित मतदानलाई पुनः सुचारु गर्नुपर्नेमा गणना गर्ने निर्णय भएको भन्दै केही दलले असहमति जनाएका छन् ।

 
पुनः मतदान गर्नुपर्ने माग मुख्य निर्वाचन अधिकृतले पुरा गर्नुको साटो राजीनामा दिएका थिए । जिल्ला अदालतका १ नं. न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिए अर्का न्यायाधीश उत्तम सिलुवाललाई उनको ठाउँमा निर्वाचन आयोगले नियुक्ति दिएको थियो । 


यही बीच निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगको टोली स्थलगत भ्रमणका लागि उदयपुृर आएका थिए । भण्डारीले सर्वपक्षीय छलफल राखेर फर्केको ३ दिनपछि मत गणना गर्ने निर्णयसहितको निर्देशन दिएपछि गणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । 


गणना गर्नेप्रति नेकपा (माओबादी केन्द्र), एकीकृत समाजबादी पार्टी र जनता समाजबादी पार्टीलगायतले असहमति जनाएका छन् । सर्वदलीय बैठकमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले गणना गर्नुपर्नेमा जोड दिए भने माओबादी, एस र जसपाले असहमति जनाएको बैठकमा सहभागी माओबादी जिल्ला सचिव किरण राईले बताए । उनका अनुसार विहानदेखि लाईन बसेका मतदाताहरु वर्षाका कारण मत दिने अधिकारबाट वञ्चित भएकाले पुनः मतदान हुनुपर्ने माग माओबादीले राख्दै आएको थियो । 


एस र जसपाले पनि पुनः मतदान गर्नुपर्नेमै जोड दिदै आउँदा मतदान प्रक्रिया सुचारु गरिपाउँ भन्दै उच्च अदालत बिराटनगरमा रिटसमेत परिसकेको छ । तर, यसैबेला मतगणना गर्नुले मतदातालाई मताधिकारबाट वञ्चित गराउन ठहर यी दलहरुले गर्दै बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेको राईले बताए । 


आयोगको निर्देशन अनुसार मंगललबार १ः०० बजेदेखि मतगणना वडा नं. १ बाट थालिएको छ । त्रियुगामा १८ हजार ३ सय २० पुरुष र २० हजार ८५ महिला गरी ६० हजार ४६ मतदातामध्ये ३८ हजार ४ सय ५ मत खसेको निर्वाचन अधिकारी कोईरालाले बताएका छन् ।