कटारी ११ मा सीमान्तकृत अनन्त हायु वडाध्यक्ष 

२0७९ जेष्ठ ७ शनिबार
कटारी ११ मा सीमान्तकृत अनन्त हायु वडाध्यक्ष 

उदयपुर

सीमान्तकृत समुदायका एक युवा उदयपुरमा वडाध्यक्ष विजयी भएका छन् । कटारी नगरपालिका ११ का अनन्त हायु वडाध्यक्ष विजयी भएका हुन् । 

नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार भएका ३८ वर्षीय हाय झिनो मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हायुले गठबन्धनबाट उम्मेदवार भएका नेकपा (माओबादी केन्द्र)का दीपक बुढाक्षेत्रीभन्दा ३ मत बढी ल्याएका छन् । 


उनलाई ४ सय १५ मत पर्दा बुढाक्षेत्रीलाई ४ सय १२ मत परेको निर्वाचन अधिकृत राजकुमार राउतले बताए । एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका हायु पार्टीको कटारी नगर कमिटी इचार्जसमेत हुन् । उनको वडामा एक खुल्ला सदस्यबाहेक सबैमा एमालेले जितेको छ ।


गठबन्धनका तर्फबाट काँग्रेसका थीरबहादुर सुनुवारले खुल्ला सदस्य जितेका छन् भने बाँकी ३ सदस्यमा एमालेकै पकड रहेका भएको छ । एमालेबाट अर्को खुल्ला सदस्य कृष्णबहादुर रानामगर जितेका छन् भने महिला सदस्य बालकुमारी राउत र दलित महिला सदस्य कल्पना नेपालीले जितेकी छिन् । 


स्थानीयका अनुसार हायु समुदायको एक मात्र प्रवेशिका उत्तिर्ण अनन्त कृषि प्राविधिकसमेत हुन् । अहिलेसम्मको नतिजा अनुसार जिल्लाका ८ स्थानीयतहका ७५ वडामध्ये हायु एक मात्र सीमान्तकृत समुदायबाट जननिर्वाचित वडाध्यक्ष हुन् । 

यसैबीच जारी मतगणनाको नतिजा अनुसार अहिलेसम्म कटारीमा मेयर र उपमेयर एमालेले अग्रता लिइरहेको छ । शनिबार मध्यान्हसम्मको परिणाम अनुसार गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका राजेशचन्द्र श्रेष्ठभन्दा  १ सय १९ मतान्तरले एमाले उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठको अग्रता छ । एमालेले २ हजार ९ सय ९५ मत परिरहँदा काँग्रेसले २ हजार ८ सय ७६ मत पाईरहेको छ । 


उपमेयरमा पनि एमाले फराकिलो अन्तरले अगाडि छ । एमालेकी मीना खड्काले उपमेयरमा ३ हजार १ सय ४६ मत पाईरहेकी छिन् भने गठबन्धनका उम्मेदवार माओबादीका बिनोद कटुवालले २ हजार ४ सय ३१ मत पाईरहेको निर्वाचन अधिकृत राउतले बताएका छन् । 


माओबादीबाट बागीमा स्वतन्त्र उम्मेदवार भएका केपी बरालले १ हजार ६ सय ५ मत ल्याईरहदा काँग्रेसका बागी बालकृष्ण थापाले ९ सय ४३ र एमालेकी बागी भीमुकुमारी राउतले ९ सय ४९ मत पाईरहेकी छिन् । एसबाट स्वतन्त्रमा उपमेयर उठेका हृदय तामाङलाई १ हजार १ सय ५ मत परिरदा मंगोल नेश्नल अर्गनाईजेसनका प्रेमबहादुर मगरले ८१ र राप्रपाका पुष्प राज भण्डारीले २२ मत पाईरहेका छन् । 


२५ हजार ७ सय ४३ मत खसेको कटारी नगरपालिकाका हालसम्म ७ देखि १४ नं. वडासम्मको नतिजा घोषणा भईसकेको छ । अहिले ५ र ६ नंं. वडाको गणना भईरहेको छ भने अव बजारक्षेत्र प्रवेश गरेकाले मतगणना सक्न अझै समय लाग्ने अनुमान छ । 


कटारीका वडा नं. ४ र ३ बजारक्षेत्र हो भने २ र १ पनि बजारोन्मुख भएकाले बाक्लो आवादीका कारण धेरै मतदाता रहेकाले २४ घण्टासम्म समय लाग्ने अनुमान गरिएको छ । 


क्याप्सनः कटराी नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष अनन्त हायु ।