त्रियुगा १२ को चुनाव सुचारु गर्न गठबन्धनको माग

२0७९ जेष्ठ ५ बिहीबार
त्रियुगा १२ को चुनाव सुचारु गर्न गठबन्धनको माग

नेकपा (माओबादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) पार्टीले त्रियुगा नगरपालिका १२ मा रोकिएको चुनाव निर्वाचन आयोगले सुचारु नगरेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । माओबादी र एसले बिहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै वैशाख ३० गते ४ः३० बजे रोकिएको चुनाव अझै सुचारु नगरेकोप्रति ध्यानाकर्षण भएको भन्दै तत्काल चुनाव सुचारु गर्न उनीहरुले माग गरेका छन् । 


माओबादी जिल्ला समन्वय सचिव किरण राई र एस जिल्ला अध्यक्ष राममणि पोखरेलले हस्ताक्षरि संयुक्त विज्ञप्तीमा वैशाख ३० गतेको स्थानीयतह निर्वाचनमा  १२ नं. वडाको जनप्रेमी आधारभूत विद्यालय पूरानो गाईघाट मतदान केन्द्रमा मतदान अधिकृतलगायत कर्मचारीको चरम लापरबाहीका कारण स्थगित भएको निर्वाचन प्रक्रिया पुनः मतदान गर्न गराउने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुर मौन रहदा वडाका सयौं मतदाताहरु मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपरेको उल्लेख छ । 


वर्षातको कारण मतदान प्रक्रिया रोकिन गएको सूचना वैशाख ३० गते ४ः३० बजे  टाँस गरी मतदान स्थगित र पुनः मतदान हुने सूचना सोही ठाउँमा प्रकाशन गरिने 
भनिएकोमा अहिलेसम्म पुनः मतदानको प्रक्रिया अगाडि नबढाइएको भन्दै विज्ञप्तीमा निर्वाचन ऐनको दफा ४० र निर्देशिकाको दफा १०८ बमोजिम कार्य गर्न आग्रह गरिएको छ । 


मतदान गर्नबाट बञ्चित रहेका आम मतदाताको संवैधानिक हक अधिकार अन्तर्गत पर्ने नागरिकले आवधिक निर्वाचनको माध्यमबाट जनप्रतिनिधि चुन्ने र चुनिन पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको स्मरण गर्दै विज्ञप्तीमा वडाका मतदाता तोकिएको समयभित्र लाईन बसेर पनि मताधिकारबाट वञ्चित रहेको हुनाले संयुक्त गठबन्धनको तर्फबाट नागरिकको उक्त हक अधिकारको कार्यान्वयन तथा प्रत्याभूतिको ग्यारेन्टी गर्न माग गरिएको छ । 


नागरिकको मताधिकारसँग जोडिएको विषयलाई लामो समयसम्म संवैधानिक निकायबाट निर्णय नलिई अनिश्चित अवस्था कायम रहदा आशंका पैदा गराएको भन्दै विज्ञप्तीमा संयुक्त गठबन्धन तत्काल स्थगित निर्वाचन पुनः सुचारु गर्ने मिति र समय तोक्न जोडदार माग गरिएको छ । यस्तो संवेदनसिल विषयलाई बेवास्ता गरी नागरिकको हकअधिकार कुण्ठिट गर्ने दुस्पप्रयास गरे सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेबारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनीसमेत विज्ञप्तीमा दिइएको छ ।