त्रियुगा १२ को टुंगो नलगाए काँग्रेस आन्दोलनमा उत्रिने

२0७९ जेष्ठ ५ बिहीबार
त्रियुगा १२ को टुंगो नलगाए काँग्रेस आन्दोलनमा उत्रिने

उदयपुर

५ दिनदेखि रोकिएको त्रियुगा नगरपालिका १२ को निर्वाचनको विषयमा तत्काल टुंगो नलागे नेपाली काँग्रेस आन्दोलनमा जाने भएको छ । पार्टीले बिहीबार एक विज्ञप्ती प्रकाशित गरी तत्काल रोकिएको चुनावको विषयमा निर्णय गर्न आग्रह गर्दै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । 


पार्टी सभापति हिमाल कार्कीले एक विज्ञप्ती प्रकाशित गरी अनिर्णयको बन्दी नबनाई १२ नं. वडाको रोकिएको चुनावको निकास निकाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । देशका बिभिन्न ठाउँमा रोकिएको चुनाव पुनः भएर नतिजा सार्वजनिक भईसके पनि त्रियगा १२ को चुनावको विषयमा ५ दिनदेखि सम्बन्धित निकायले टुंगो नलगाएको भन्दै विज्ञप्तीमा तत्काल निकास निकाल्न आग्रह गरिएको छ । 


पुनः मतदान गर्ने या खसेको मत गणना गर्ने छिटो टंगो लगाउन आग्रह गर्दै विज्ञप्तीमा चेतावनी दिइएको छ ‘अन्यथा नेपाली काँग्रेस आन्दोलन गर्न बाध्य हुने र त्यसको परिणामको जिम्मेबारी सम्बन्धित पक्षले लिनुपर्नेछ ।’