५ किल्ला गुमाएको उदयपुरमा एमालेको चौदण्डीगढी नयाँ किल्ला

२0७९ जेष्ठ ५ बिहीबार
५ किल्ला गुमाएको उदयपुरमा एमालेको चौदण्डीगढी नयाँ किल्ला

उदयपुर

जिल्लाका ८ मध्ये ६ वटा स्थानीयतहको नतिजा बाहिरिसक्दा साविकका ४ वटा पालिकाको किल्ला गुमाईसकेको नेकपा (एमाले)ले एउटा नयाँ किल्ला स्थापना गरेको छ । ०७४ को चुनावमा एमालेले जितेका उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिका तथा बेलका नगरपालिका गुमाईसक्दा चौदण्डीगढीमा नयाँ किल्ला बनाउन सफल भएको हो । 


गठबन्धनका कारण धेरैतिरका किल्ला गुम्दै गएपछि निरासिएका नेता कार्यकर्तालाई चौदण्डीगढीमा एमालेले बहुमत वडासहित मेयर उपमेयर जितेपछि राहतको उर्जा मिलेको छ । चौदण्डीगढीको मेयर र उपमेयरमा कालु लामा र मनिकादेवी दुलालल विजयी भएसँगै कार्यकर्तामा उर्जा मिलेको हो ।


लामाले काँग्रेसका खगेन्द्र राईभन्दा ८ सय २७ मत बढी ल्याएर मेयर हात पार्दा उपमेयरमा दुलाल काँग्रेसकी रीताकुमारी चौधरीलाई भारी मतान्तरले पराजित गरेकी छिन् । काँग्रेसका उम्मेदवार राईले ८ हजार १२ मत पाउँदा लामाले ८ हजार ८ सय ६३ मत ल्याएका छन् । त्यस्तै दुलालले ९ हजार ५ सय ६६ मत पाएकी छिन् भने चौधरीलाई ७ हजार ७ सय ६० मत मात्र परेको छ । राई र चौधरी निवर्तमान मेयर तथा उपमेयर हुन् । 


गठबन्धनतर्फबाट मेयरमा उठेका एकीकृत समाजबादीका उम्मेदवार नरेन्द्र राउतले ४ हजार ३ सय ७५ मत पाएका छन् भने उपमेयरमा माओबादीकी हीरा थापा तिम्सीनाले ३ हजार ७ सय ११ मत ल्याएकी छिन् । माओबादीका स्वतन्त्र मेयर उम्मेदवार कमलध्जव राईले ६ सय २१ र राप्रपाका रामप्रसाद आचार्यले ४ सय ७९ मत ल्याएका छन् । उपमेयरमा राप्रपाकी रेखाकुमारी ठाकुरले ५ सय १३ मत पाएकी छिन् । 


मेयर उपमेयरसँगै एमालेले चौदण्डीगढीमा बहुमत वडाअध्यक्ष पनि हात पारेको छ । विगतको चुनावभन्दा ठ्याक्कै घडीको उल्टो सुई घुमेसरह भएको छ चौदण्डीढीमा । गएको चुनावमा मेयर उपमेयरसहित बहुमत वडामा काँग्रेस विजयी भएकोमा यसपटक दुई वडाबाहेक सबैमा एमाले जितेको छ ।


चौदण्डीगढीका १० वटा वडामध्ये एमालेले ८ वटामा बाजी मारेको छ । एमालेबाट वडाध्यक्ष जित्नेहरुमा १ नं. मा सीताराम राई, २ मा हरिबहादुर खड्का, ४ मा लुङ्गाराज राई, ५ मा तुलसीराम ढकाल, ७ मा केशव अधिकारी, ८ मा भवनाथकुमार मगर, ९ मा प्रकाश राउत र १० मा धर्मेन्द्र खड्का रहेका छन् । काँग्रेसबाट वडाध्यक्ष जित्नेमा ३ नं. मा पर्शुराम राई र ६ मा अम्बरबहादुर खड्का  छन् । 


०७४ मा ९ नं. वडामा एमालेका प्रकाश राउत र माओबादीबाट २ मा सन्तोष सुबेदी, ५ मा देवनारायण चौधरी र ६ मा कमलध्वज राईबाहेक सबै वडा काँग्रेसले कब्जा जमाएको थियो । यसपटक मेयर उपमयेरसहित ७ वडामध्ये ३ र ६ बाहेक सबै वडा काँग्रेसले गुमाउनु परेको छ ।