बेलका मेयरमा गठबन्धन र उपमा एमालेको जित

२0७९ जेष्ठ ४ बुधबार
बेलका मेयरमा गठबन्धन र उपमा एमालेको जित

उदयपुर

बेलका नगरपालिकाको चुनावी नतिजा सार्वजनिक भएको छ । जस अनुसार गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार अशोक कार्कीले ३ हजार २ सय ४० बढी मतान्तरले एमालेका उम्मेदवार दुर्गाकुमार थापालाई पराजित गरेका छन् । 


११ हजार १ सय २० ल्याएर मेयरमा कार्की विजयी हुँदा थापाले ६ हजार ९ सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । त्यसैगरी उपमेयरमा भने एमालेकी जीरा राई विजयी भएकी छिन् । ८ हजार २ सय ७६ मत पाएर राई उपमेयर जित्दा गठबन्धनका मनोज तामाङले ७ हजार ४ सय ९५ मत पाएका छन् । 


नगपालिकाका ९ वडामध्ये ४ वटा काँग्रेस र २ वडा माओबादीले जित्दा एमालेले ३ वटाको सुरक्षा गर्न सकेको छ । काँग्रेसका वडा नं. १, ३, ४ र ९ मा क्रमशः दिनेश्वर चौधरी, टंकप्रसाद आचार्य, तीर्थराज अधिकारी र पदम खड्का वडाध्यक्ष जितेका छन् । ७ र ८ नं. मा माओबादीका निकेश राई र जयकुमार राई जितेका छन् भने एमालेबाट २, ४ र ५ नं. मा प्रेमबहादुर दाहाल, दीपक रेग्मी र बसन्त मगर वडाध्यक्ष जित्न सफल भएका छन् । 


बेलका एमालेको किल्ला नगर हो । ०७४ को चुनावमा १ र २ नं. वडाध्यक्ष काँँग्रेसले जितेको थियो भने बाँकी सबै वडा र मेयर उपमेयर एमालेको कब्जामा परेको थियो । पराजित मेयर थापा यसअघि पनि मेयर थिए भने उपमेयर राजकुमारी चौधरी थिईन् । पार्टीले उनलाई टिकट नदिएपछि जीरा राईलाई उपमेयर लड्ने मौका मिलेको थियो । 


चौदण्डीगढीमा एमाले सुनिश्चित 

अर्को नगरपालिका चौदण्डीगढीमा भने एमाले जित्ने लगभग निश्चित भएको छ । मत परिणाम घोषणा भईनसके पनि एमालेका उम्मेदवार कालुमान लामा ८ सयभन्दा बढीमले काँग्रेस उम्मेदवार खगेन्द्र राईभन्दा अग्रस्थानमा रहेका छन् । उपमेयरमा पनि मणिकादेवी दुलाल एमालेकै अग्रता रहेको छ ।