मुख्य निर्वाचन अधिकृत तोकिएसँगै त्रियुगा १२ को टुंगो लाग्ने 

२0७९ जेष्ठ ३ मंगलवार
मुख्य निर्वाचन अधिकृत तोकिएसँगै त्रियुगा १२ को टुंगो लाग्ने 

उदयपुर

दुईदिनअघि मुख्य निर्वाचन अधिकृतले राजीनामा दिएपछि रोकिएको त्रियुगा नगरपालिकाको निर्वाचन प्रक्रिया अव सुचारु हुने अपेक्षा गरिएको छ । त्रियुगा १२ को मतदान स्थगित हुनु र कटारी १६ मा गोली चलेर युवकको ज्यान गएपछि तनावमा परेका मुख्य निर्वाचन अधिकृत दीपक खनालले सोमबार राजीनामा दिएका थिए । 


जिल्ला न्यायाधीशसमेत रहेका खनालले स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएपछि त्रियुगा १२ को विषयमा निर्णय हुन नसकेर सिंगो नगरपालिकाको मतगणना सुरु हुन सकेको छैन । मंगलबार साँझ मात्र अर्का न्यायाधीश उत्तम सिलवाल मुख्य निर्वाचन अधिकृत तोकिएपछि अव ‘समस्याको गाँठो फुक्ने’ अपेक्षा गरिएको छ । 


जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले मंगलबार दिउँसो मात्र सिलवाल मुख्य निर्वाचन अधिकृत तोकिएको जानकारी निर्वाचन आयोगबाट आएको बताए । पहिलेका मुख्य निर्वाचन अधिकृतले राजीनामा दिएपछि रोकिएको चुनावी प्रक्रियाबारे अव छिट्टै टुंगो लाग्ने अपेक्षा गरिएको उनले बताए । 


राजनीतिक दलहहरुले पनि न्यायाधीश सिलवालबाट छिट्टै निकास निस्कने अपेक्षा गरेका छन् । सबैतिरको नतिजा अन्तिम चरणमा पुगिसके पनि त्रियुगा र कटारीको गणना सुरु नहुदा मतदाता र उम्मेदवारमा अन्यौल छाएको छ । कटारीमा भने मंगलबार साँझ ६ः०० बजेदेखि गणना सुरु भईसकेको छ । वडा नं. १० को सोरुङ मतदान केन्द्रमा प्रहरी गोलीले स्थानीय १८ वर्षीय वीरबहादुर कटुवालको निधन हुनुका साथै अर्का १३ वर्षीय मोहन श्रेष्ठ घाईते भएपछि कटारीको मतगणना रोकिएको थियो ।


३ दिनसम्मको छलफलले सहमति जुटाएपछि मृतकको शव उठाएर पोष्टमार्टम गरी सोमबार अन्त्यष्टि गरिसकिएको छ । त्यसपछि पनि पटक पटक छलफल गर्दासमेत गणना गर्ने विषयमा टुंगो लाग्न सकेको थिएन । मंगलबार पुनः बसेको बैठकले सहमति जुटाएसँगै गणना थालिएको कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले बताए । उनका अनुसार अहिले वडा नं. १४ र १३ को मत गणना कार्य भईरहेको छ ।