मतदान भएको ४ दिनपछि कटारीको गणना सुरु

२0७९ जेष्ठ ३ मंगलवार
मतदान भएको ४ दिनपछि कटारीको गणना सुरु

उदयपुर

मतदान भएको ४ दिनपछि कटारी नगरपालिकाको गणना सुरु भएको छ । १४ नं. वडास्थित सोरुङ मतदान केन्द्रमा प्रहरी गोली लागेर एक युवाको ज्यान गएसँगै अवरुद्ध भएको निर्वाचन प्रक्रिया मंगलबारदेखि बल्ल सुचारु भएको हो । 


गएको शुक्रबार साँझ मतदान केन्द्रमा बिबाद भएपछि प्रहरीले चलाएको गोलीबाट  स्थानीय १८ वर्षीय नविन भन्ने वीरबहादुर कटुवालको निधन भएको थियो । सो घट्नापछि अवरुद्ध भएको निर्वाचन प्रक्रिया लामो छलफलले सहमति निकालेसागै  मंगलबार साँझदेखि गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


मतगणना गर्ने विषयमा सोमबार दिनभर पनि बैठक बसेको तर, निश्कर्ष निस्केको थिएन । मंगलबार पनि विहानैदेख िबसेको बैठकले सहमति निकालेपछि साँझ ५ः०० बजेदेखि गणना सुरु भएको कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले बताए । राउतका अनुसार गणना कार्य १४ नं. वडाबाट थालिएको छ ।     


कटारीमा नेपाली काँग्रेस र माओबादीको गठबन्धन, नेकपा (एमाले), राप्रपा, मंगोल नेश्नल अर्गनाईजेसन (एमएनओ) र एमाले तथा माओबादीबाट बागी गरी ८ जना मेयरका लागि चुनावी दौडमा छन् । गठबन्धनबाट काँग्रेसका राजेशचन्द्र श्रेष्ठ मेयर र माओबादीका बिनोद कटुवाल उपमेयरमा उठेका छन् । एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ, राप्रपाबाट पुष्पराज भण्डारी, मजदुर किसान पार्टीबाट चन्द्रबहादुर कार्की र एमएनओका प्रेमबहादुर मगरको मेयरमा उम्मेदवारी छ ।


स्वतन्त्रतर्फ माओबादीका केपी बराल, एमालेकी भीमकुमारी राउत र काँग्रेसका कृष्ण थापाको मेयरमा बागी उम्मेदवारी परेको छ । बरालले जेब्रा घोडा, राउतले धारा र थापाले मुडा चुनाव चिन्ह लिएका छन् । उपमेयरमा एमालेले गीता खड्कालाई उठाएको छ भने एकीकृत समाजबादीले हृदय तामाङ, जनता समाजबादी पार्टीले बुद्धिमान तामाङ, राप्रपाले कल्पना पाण्डे, मजदुर किसान पार्टीले धनमाया सुनुवार, एमएनओले चम्पा मगरलाई उपमा उठाएको छ ।  स्वतन्त्रबाट गंगाप्रसाद पोखरेल, कृष्ण थापा र मनुकुमारी भुजेलको उम्मेदवारी परेको अधिृकत राउतले बताएका छन् ।  


कटारीमा २५ हजार ३ सय ५० मत खसेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताएका छन् । उनका अनुसार कटारीमा ३८ हजार ४ सय ९४ मतदाता रहेकोमा १३ हजार ५ सय ७० महिला र ११ हजार ८ सय ४० पुरुषले मतदान गरेका छन् । 


वडाध्यक्ष र सदस्यहरुको अन्तिम परिणाम बुधबार विहानदेखि आउने भए पनि मेयर उपमेयरसहितको पुरा परिणाम सुन्न भने ३६ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।