स्थानीयतह निर्वाचनः काँग्रेस, जसपा र एमालेको खाता खुल्यो

२0७९ बैशाख ३१ शनिबार
स्थानीयतह निर्वाचनः काँग्रेस, जसपा र एमालेको खाता खुल्यो

उदयपुर

शुक्रबार सम्पन्न स्थानीयतह चुनावमा मतपरिणाम आउन थालेको छ । जस अनुसार उदयपुरका ३ गाउँपालिकामा १÷१ वडाको परिणाम घोषणा भएको छ । जस अुनसार नेपाली काँग्रेस, नेकपा (एमाले) र जनता समाजबादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । 


निर्वाचन कार्यालयका अनुसार लिमचुङबु्ङ गाउँपालिका ५ मा गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार काँग्रेसका कविचन्द्र राई निर्वाचित भएका छन् । लिमचुङबुङकै ४ नं. वडामा गठबन्धनकै तर्फबाट उम्मेदवार भएका जनता समाजबादी पार्टी (जसपा)का छत्रबहादुर राई विजयी भएका छन् । 


उता ताप्ली गाउँपालिका १ मा एमालेका उम्मेदवार उद्धव हमाल वडाध्यक्ष विजयी भएका छन् भने पछिल्लो परिणाम अनुसार रौतामाई १ का एमालेबाट रुद्रबहादुर कार्की वडाध्यक्ष जितेका छन् । 


शुक्रबार विहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म भएको मतदानको गणना हरेक पालिका केन्द्रमा भईरहेको छ । कुनै पािलकामा रातिदेखि र कुनैमा शनिबार विहानदेखि गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम शनिबार दिउँसोदेखि आउन थालेको कार्यालयले जनाएको छ । 


उदयपुरमा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीयतह रहेका छन् । जसमध्ये सदरमुकाम त्रियुगा नगरपालिका र कटारी नगरको मतगणना रोकिएको छ । त्रियुगा १२ को मतदान कार्य ढिला भएको तथा मतदान अधिकृतबाटै अनियमितता भएको आरोप लागेपछि मतदान रोकिएको छ । त्यहाँ मतदान कहिले गर्ने भन्ने कुरा निर्वाचन आयोगले तोके अनुसार हुने भनिएको छ । 


उता कटारी नगरपालिका १० सोरुङछविसेमा शुक्रबार प्रहरी गोली लागेर एकजनाको ज्यान गएपछि मतदान रोकिएको छ । उदयपुरका ९८ मतदानस्थलमध्ये यी दुई केन्द्रबाहेकमा भने शान्तिपूर्ण मतदान सकिएर गणना भईरहेको छ । जस अनुसार १ परिणाम पनि सार्वजनिक हुन थालेको हो ।