लिमचुङबु्ङमा त्रिपक्षीय रोचक भिडन्त 

२0७९ बैशाख २५ आईतवार
लिमचुङबु्ङमा त्रिपक्षीय रोचक भिडन्त 

उदयपुर

आसन्न वैशाख ३० गतेको निर्वाचनमा पहाडी गाउँपालिका लिम्चुङबुङमा त्रिपक्षीय रोचक भिडन्त हुने देखिएको छ । गठबन्धनपक्ष, गठबन्धनकै स्वतन्त्र र एमाले उम्मेदवारबीच अध्यक्षमा रोचक प्रतिस्पर्धा हुने स्वयं प्रत्यासीहरुको स्वीकारोक्ति छ ।स 

 

नेकपा (माओबादी केन्द्र)ले जालझेलपूर्वक टिकट लिने–दिने काम गरेपछि निरासिएका पुराना नेता होम किरातीले अध्यक्षमा ‘बागी’ उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा पनि टिकटको दावेदार रहेका उनलाई पार्टीले अर्को पटक दिने भन्दै थुमथुमाएको र यसपटक पनि जिल्ला नेतृत्वले षडयन्त्रपूर्वक टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको गुनासो किरातीले गरे । 

 

कक्षा १२ सम्म निशूल्क शिक्षा, निजी स्रोतका शिक्षकलाई दरबन्दीमा परिणत, विद्यालयहरुलाई भवन, पूर्वाधार र दरबन्दीयुक्त बनाउने नारा लिएर चुनावी अभियानमा होमिएका किरातीले हरेक वर्ष २५ जना जेहेन्दार छात्रछात्रालाई स्नातकसम्म छात्रबृत्ति दिने प्रतिबद्धता जनाएका छन् । 


स्वास्थ्यतर्फ ७२ किसिमका औषधि वडा स्वास्थ्यचौकीबाट निशूल्क बितरण, स्वास्थ्यचौकीमा एमबिएस डा. को दरबन्दी कायम गरी निशूल्क स्वास्थ्य सेवामा नागरिकको पहुँच बिस्तारको नारा पनि किरातीले अघि सारेका छन् । वडा कार्यालयलाई शक्तिसाली र अधिकारसम्पन्न बनाउँदै वडाबाटै योजना सम्झौता, अनुगमन र भुक्तानी गर्ने व्यवस्था मिलाउने बताएका छन् ।


जेब्रा चिन्ह लिएर चुनावी मैदानमा होमिएका किरातीले लिम्चुङबुङको वास्तविक मुहार फेर्न, गफमा होईन कामको माध्यामबाट विकास गरेर साँच्चै गाउँबासीको मुहार हसिलो बनाउन, एकाधिकार र एकतन्त्रीय तानाशाही प्रबृत्तिको अन्त्य गर्न आफु उम्मेदवार बनेको भन्दै अमूल्य मत दिएर जिताउन अपिल गरेका छन् । 


गठबन्धनतर्फबाट यसअघिकै अध्यक्ष मेजरकुमार राई अध्यक्ष र काँग्रेसका पुष्पलाल राई उपाध्यक्षमा उठेका छन् ।  एमालेबाट राजकुमार राई अध्यक्ष र देवकुमारी कार्की क्रमशः अध्यक्ष र उपाध्यक्षका प्रत्यासी छन् । गठबन्धन र एमाले उम्मेदवारले केन्द्रीय घोषणापत्रलाई नै गाउँमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।


चुनावी मैदानमा रहेका बागी, गठबन्धन र एमाले उम्मेदवारले आफु जित्ने दावा गरिरहेका छन् । बागी उम्मेदवारले आफु इमान्दार, गाउँमै बसेर जनताको सुख दुःखमा साथ दिने, पार्टीले पीडा र मर्म नबुझेको व्यक्ति भएकाले सहानुभूति र सैद्धान्तिक मत पाएर जित्ने आधार प्रस्तुत गरेका छन् । गठबन्धनले माओबादी र काँग्रेसको सैद्धान्तिक मत नै काफी भएको हुनाले सहजै जित्ने दावी गरेको छ भने एमालेले सांगठनिक मत बलियो भएको आधार प्रस्तुत गरेको छ । 


समग्रमा लिम्चुङबुङ गाउँपालिकाको चुनाव रोचक र कडा प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।