बिप्लब पार्टीको चुनाव चिन्ह पुतली

२0७९ बैशाख १८ आईतवार
बिप्लब पार्टीको चुनाव चिन्ह पुतली

उदयपुर

सशस्त्र संघर्ष गर्दा दुईवर्षसम्म प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न स्थानीयतह चिर्वाचनमा चुनाव चिन्ह ‘पुतली’ पाएको छ । संसदीय व्यवस्थाको चर्को बिरोधी नेकपाले एकाएक चुनावको पूर्वसन्ध्यामा निर्वाचनको उपयोग गर्ने भन्दै चुनमा भाग लिन लागेको हो । 


पार्टीले उदयपुरमा पनि गाउँपालिका अध्यक्ष, नगर उपप्रमखु र वडाध्यक्ष गरी झण्डै दर्जन हाराहारी उम्मेदवार उठाएको छ । उदयपुरगढी गाउँपालिका प्रमुख, त्रियुगा नगर उपप्रमुख, ३ नगर वडाध्यक्ष र २ गाउँ वडाध्यक्षमा उम्मेदवारी दिएको पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए । 


उनका अनुसार उदयपुरगढी गाउँपालिका अध्यक्षमा जीतबहादुर पुलामी मगरले उम्मेदवारी दिएका छन् भने त्रियुगा नगरपालिकामा रामकृष्ण सदाले उपमेयरमा उम्मेदवारी हालेका छन् । त्रियुगाका ७ मा मानबहादुर दनुवार वडाध्यक्ष, कटारी नगरपालिका ४ मा पूर्णबहादुर कटुवाल वडाध्यक्ष बेलका नगरपालिका ९ को  वडाध्यक्षमा मनकुमारी राई (रीता)को उम्मेदवारी परेको छ । 


उम्मेदवारहरु सबै तत्कालीन माओबादी जनयुद्धबाट खारिएर आएका अगुवा नेता कार्यकर्ता भएको पौड्यालले बताएका छन् । उदयपुरगढीमा अध्यक्ष उठेका पुलामी जिल्ला सदस्य तथा गाउँ सेक्रेटरी हुन् भने त्रियुगा नगर उपप्रमुखका दावेदार सदा पुर्व जनप्रतिनिधिसमेत हुन् । बेलका ९ की वडाध्यक्ष उमेदवार रीता जनयुद्धकालीन नेतृ हुन् भने त्रियुगा ७ का वडाध्यक्ष उम्मेदवार दनुवार पनि जिल्ला सदस्य हुन् । त्यसैगरी कटारी ४ का वडाध्यक्ष उम्मेदवार कटुवाल जिल्ला सदस्य तथा पूर्णकालीन कार्यकर्ता हुन् । 


बिप्लव पार्टीका उम्मेदवारले जिल्लाभर एउटै चुनाव चिन्ह पुतली रोजेको छ । निर्वाचन घोषणा भएपछि आयोगले काम थालिसकेको अवस्थामा पार्टी दर्ता गर्न नमिलेपछि स्वतन्त्रको हैसियतमा चुनावमा भाग लिन उसले स्वतन्त्रमा उम्मेदवारी दिएको हो । स्वतन्त्रमा उम्मेदवारी दिएका कारण उसले आधिकारिक चिन्ह नहुँदा पुतली लिएर चुनाव लड्न लागेको जनाएको छ । पार्टीले केहीलाई छाडेर अधिकतर उम्मेदवारहरु जित्ने दावी गरेको छ ।