'बागी'माथि काँग्रेसको लगाम, ८ जनालाई साधारण सदस्यबाटै निलम्बन 

२0७९ बैशाख १७ शनिबार
'बागी'माथि काँग्रेसको लगाम, ८ जनालाई साधारण सदस्यबाटै निलम्बन 

उदयपुर

नेपाली काँग्रेस उदयपुरले ‘बागी’ उम्मेदवारहरुलाई कारबाही गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बिद्रोही उम्मेदवारी दिने ८ जना नेता कार्यकर्तालाई कारबाही गरिएको शनिबार जारी विज्ञप्तीमा जनाइएको छ। 


पार्टीले केन्द्रीय कार्यालयबाट प्राप्त वैशाख १६ गतेको पत्र र जिल्ला पार्टीको वैशाख १४ गतेको अनु्रोध विज्ञप्ती अनुसार आधिकारिक उम्मेदवारविरुद्ध बिद्रोह गर्ने बिभिन्न पालिकाका उम्मेदवारलाई कारबाही गरेको उल्लेख छ।  


विज्ञप्तीका अनुसार ३ प्रमुख र ५ उपप्रमुखका प्रत्यासीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। केन्द्रको वैशाख १६ गतेको पत्र तथा जिल्ला पार्टीको १४ गते जारी गरेको अनुरोध प्रेस विज्ञप्ती अनुसार बिभिन्न पालिकाका मेयर÷उपमेयर र अध्यक्ष÷उपाध्यक्षका उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विज्ञप्तीमा जनाइएको छ । 


पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा बागी उम्मेदवारहरुलाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेको भन्दै विज्ञप्तीमा काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) ग बमोजिम कारबाही गरिएको उल्लेख छ। 
 

पार्टीले चौदण्डीगढी नगरप्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर प्रमुखका प्रत्यासी बालकृष्ण थापा, कटारीकै उपप्रमुख प्रत्यासी कृष्ण थापा र मनकुमारी भुजेल, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी र उपाध्यक्ष उम्मेदवार सुशिला मगरलाई कारबाही गरेको छ । त्यस्तै लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर पनि कारबाहीमा परेको विज्ञप्तीमा उल्लेख छ । 


पार्टीले काँग्रेस, माओबादी, एकीकृत समाजबादी, जनता समाजबादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर चुनाव लड्ने केन्द्रीय नीति लिएकोमा त्यसविरुद्ध जाने नेता कार्यकर्तालाई कारबाही गरेको सभापति कार्कीले बताएका छन् ।