उदयपुरमा २ दलित सदस्य निर्विरोध, धेरैजसो ‘बागी’को नाम फिर्ता

२0७९ बैशाख १६ शुक्रबार
उदयपुरमा २ दलित सदस्य निर्विरोध, धेरैजसो ‘बागी’को नाम फिर्ता

उदयपुर

आसन्न स्थानीयतह निर्वाचनमा उदयपुरका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको लिमचङबुङ गाउँपालिका १ की दलित महिला सदस्य देवकुमारी विक र रौतामाई गाउँपालिका १ की दलित महिला सदस्य फुलमाया विक निर्विरोध भएका हुन् । 


बग्रेल्ती बागी उम्मेदवार परेर टाउको दुखाईरहेको नेताहरुलाई एमाले र माओबादीका दलित सदस्यले नै भए पनि निर्विरोध निर्वाचित भएर खाता खोल्दा राहत महसुस भएको छ । जिल्लाका अन्य स्थानीयतहमा भने कतिपयले उम्मेदवारी फिर्ता लिए पनि निर्विरोध निर्वाचित भएको खवर नआएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए ।


जिल्लाका सबै स्थानीयतहहरुमा बागी र अन्य स्वतन्त्र उम्मेदवारहरुले नाम फिर्ता लिएको स्थानीय निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । त्रियुगामा १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने बेलकाका ११ जना, चौदण्डीगढीमा ४, लिमचुङब्ुङका ११, ताप्लीका २, उदयपरगढीका ११, रौतामाईका ९ र कटारीका ४ जनाकाो नाम फिर्ता भएको कोईरालाले बताएका छन् । 


अधिकांश बागी उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचन आयोगले शुक्रबार विहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने कार्यतालिका राखेको थियो ।