बिरामीको उपचारार्थ कर्मचारीको सहयोग

२0७९ बैशाख १५ बिहीबार
बिरामीको उपचारार्थ कर्मचारीको सहयोग

उदयपुर

एक बिरामी महिलाको उपचार गर्न उदयपुरको रौतामाई गाउँपालिकाका कर्मचारीहरु सहयोग संकलन गर्न जुटेका छन् । केही महिनायता विरामीले थलिएकी गाउँपालिकाका कार्यालय सहयोगी रमेश दाहालकी ३४ वर्षीया श्रीमति दीपाको उपचारमा सिंगो कर्मचारी परिवार सहयोग जुटाउन राजी भएको हो । 

 


रौतामाई २ नौलेका स्थायी बासिन्दा दाहाल पत्नी दीपा केहीदिनयता पेटसम्बन्धी बिरामीले उपचाररत छिन् । १ छोराकी आमा दीपा केही मिहनाअघि सिकिस्त भएपछि बिराट नर्सिंङ होम लगिडएको थियो । तर, त्यहाँ निको नभएपछि घर फर्काएकी उनलाई काठमाडौं लान रिफर गरिए पनि आर्थिक अभावका कारण गाउँपालिका केन्द्र भुट्टारमै उपचारमा राखिएको छ । 


काठमाडौं लान आवश्यक खर्च अभावका कारण कर्मचारी परिवार मिलेर सहयोग संकलन कार्य थालेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । उनका अनुसार कर्मचारीकै पत्नी बिरामी हुँदा खर्च अभावले उपचार गर्न नपाउने अवस्था आउन नदिन सबै मिलेर सहयोग जुटाउन थालिएको हो । आपसी सल्लाह अनुसार शाखा प्रमुख सबैले प्रतिव्यक्ति ५ हजार, त्यसभन्दा तल्लो तहकाले स्वेच्छिक सहयोग गर्ने सहमति गरेर सहयोग संकलन थालिएको उनले बताए । 


गाउँपालिकाका कार्यालय सहयोगीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मले आर्थिक सहयोग गरेका छन् । जस अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरुङले ६ हजार, प्राविधिक शाखा प्रमुख दीपेन्द्र श्रीवास्तव, स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरी, लेखा शाखा प्रमुख भुपध्वज रायमाझी, अन्य प्रमुखहरु बबिता परियार, सन्तोष साह, गोविन्द कार्की, चुडामणि थापा, अश्विन पोखरेल, भेषराज पराजुलीले ५÷५ हजार सहयोग गरेका छन् । 


कर्मचारीहरुबाट संकलित १ लाख १५ हजार ७ सय २५ रुपैंया रकम बिरामीका पति रमेशलाई तत्काल हस्तान्तरण गरियो । रकम हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुङले कास रमेशलाई एक्लो नठान्न आग्रह गर्दै सबै कर्मचारी साथमा रहेको ढाडस दिए । गुरुङले बिरामी पत्नीको उपचारमा सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाउँदै गाउँपालिकाको एउटा सदस्यलाई परेको पीर मर्कामा साथ सहयोग गर्न सवै सँधै तयार रहेको बताए ।


लेखापाल रायमाझीले कुनै कर्मचारी र तिनका परिवारको सदस्य बिरामी हुँदा वा आपत बिपत पर्दा सबै कर्मचारी मिलेर सहयोग गर्ने परिपाटीको विकास गर्न यस्तो संस्कारको सुरुवात गरेको बताए । उनले झण्डै ४ दर्जन कर्मचारीबाट कम्तीमा ५ सयदेखि बढीमा ६ हजारसम्म प्राप्त सहयोगले बिरामीको उपचार गर्ने बाटो खुलेको बताए ।


सबइन्जिनियर दीपेन्द्र श्रीवास्तवले संकलित रकम बिरामीका आफन्तलाई दिएपछि अव छिट्टै उपचार गर्न राजधानी पठाउने तयारी भईरहेको बताए । दाहाल परिवारलाई उद्धृत गर्दै श्रीवास्तवले बताए अनुसार पेटको बिरामीले थलिएकी दीपाको आन्द्रामा घाउ देखिनुका साथै मृगौलाले काम गर्न छाडेको तथा कलेजो सुनिएको प्रारम्भिक रिपोर्ट चिकित्सकले दिएका छन् । तर, रोग यकिन नभर्ईसकेकाले सुविधासम्पन्न अस्पताल पठाएर उपचार गनुपर्ने हुँदा काठमाडौं लाने तयारी गरिरहेको उनले बताए ।