चट्याङ परेर आगो लाग्दा घर स्वाहा

२0७९ बैशाख १४ बुधबार
चट्याङ परेर आगो लाग्दा घर स्वाहा

उदयपुर

उदयपुरको ताप्ली गाउँपालिकामा चट्याङको झिल्कोले आगलागी हुँदा एक स्थानीयको घर जलेर नष्ट भएको छ । ताप्ली १ पिपलभन्ज्याङस्थित टंकबहादुर हमालको घरमा चट्याङको झिल्को लागेर आगो सल्कदा घर र घरभित्र रहेको धनमाल नष्ट भएको हो । 


स्थानीयबासीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार मंगलबार साँझ ७ः०० बजे वर्षासँगै परेको चट्याङको झिल्को घरको छानोमा पर्दा आगो सल्केर धनमाल नष्ट भएको हो । साँझ पर्दैगर्दा गड्याङ गुडुङ र हावाहुरीसहित वर्षा भईरहेका बेला परेको चट्याङको झिल्काले घर आगलागी भएको हो । 


आगोले फुसको छानो र ढुंगामाटोले बनेको घर र घरभित्र रहेका चाँदी, नगद, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आगोले हमालको ६ लाख बराबरको धनमाल क्षति भएको छ । 


आगो रुपाटार प्रहरी चौकीबाट गएको प्रहरीले स्थानीयको सहयोगमा राति १० बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष आचार्यले बताएका छन् ।