एमालेमा पूर्व नेपाल समूह ‘क्लिनस्वीप’ 

२0७९ बैशाख ११ आईतवार
एमालेमा पूर्व नेपाल समूह ‘क्लिनस्वीप’ 

उदयपुर

आउँदो ३० गते हुन लागेको स्थानीयत निर्वाचनमा नेकपा (एमाले) उदयपुरबाट छानिएका उम्मेदवारहरुमा पूर्व माधव नेपाल समूह बढारिएको छ । जिल्लाका ४ नगर र ४ गाउँ गरी ८ स्थानीयतहमा प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्म पूर्व नेपाल समूहबाट परेका छैनन् । 


उम्मेदवार छान्दा पूर्व ओली समूहका नेताहरु मात्र सिफारिसमा परेपछि आफुहरु बिद्रो गर्नुपर्ने अवस्था आईलागेको एक असन्तुष्ट नेताले बताए । पूर्व नेपाल समूहलाई कतै नसमेटी उम्मेदवार छनौट गरेको भन्दै ती नेताले यस्तो तरिकाले चुनाव जित्न पनि मुस्किल पर्ने बताए । धेरै ठाउँमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा आफ्नै पार्टीभित्र पूर्व गुटगत निर्णय भएपछि चुनाव हार्ने सम्भावना बढेर गएको असन्तुष्टपक्षको भनाई छ । 


एमालेले बेलका र कटारी नगरपालिकाको मेयरमा पुरानै अनुहार ल्याइएको छ । तर, दुवै नगरमा उपमेयर भने नयाँ अनुहार ल्याएको छ । बेलकाका यसअघिकै मेयर दुर्गा थापालाई अघि सारेको छ । उनी सुरुदेखि ओली समूहमा छन् भने नेपाल समूहबाट टिकट पाएर मेयर जितेका कटारीका प्रत्यासी ज्ञानेन्द्र श्रेष्ठ केपी ओलीले संसद बिघटन गरेपछि कित्ता परिवर्तन गरेका हुन् । उपमेयरमा उम्मेदवार बनेकी गीता खड्का पनि ओली समूहकै हुन् ।


यता त्रियुगा नगरपालिकामा मेयरका उम्मेदवार बनाइएका भागवत राउत पुरानै ओली गुटका हुन् । उपमेयरमा टिकट पाएकी महेश्वरी राई संसद बिघटनको कदमपछि ओली समूहमा लागेकी हुन् । त्यसैगरी चौदण्डीगढी नगरमा मेयरका उम्मेदवार कालु लामा र उपमेयरको टिकट पाएकी मणिका दुलाल पनि ओली समूहकै हुन् । 


लिमचुङब्ङ गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका राजकुमार राई, ताप्ली गाउँपालिका अध्यक्षका उम्मेदवार बाबुराम राई, उदयपुरगढी अध्यक्षका उम्मेदवार गोपाल खत्री र रौतामाईको अध्यक्षको टिकन पाउने भरत थापा सबै ओली समूहकै हुन् । ताप्लीका अध्यक्ष उद्धवसिंह थापा नेपाल समूहबाट गत चुनावमा जितेका हुन्  भने उदयपुृरगढीका अध्यक्ष मानबहादुर मगर नेपाल समूहका हुन् । उनी भने एकीकृत समाजबादीमा गएका छन् । 


लिमचुङबुङमा यसअघिको चुनावमा पराजित अध्यक्ष उम्मेदवार भलराज राई नेपाल समूहका थिए । उनी पनि पछिल्लो समय ओली समूहमा गएका हुन् । तत्काली नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको कदमलाई प्रतिगमनको संज्ञा दिदै माधव, झलनाथ र प्रचण्डले गरेको आन्दोलनमा सहभागी भएका पार्टीका पूर्व जिल्ला अध्यक्ष इश्वरमणि राउतले अन्तिम चरणमा टिकट पाएनन् ।


नेकपा विघटनपछि एमालेमै बसेका उनको टिकट अन्तिम समयसम्म ओली समूहका दावेदार भागवत राउतले उछिटयाएका हुन् । त्रियुगामा यसअघि नेपाल समूहबाट मेयर बनेका बलदेव चौधरी भने नेकपा (एस)मा लागेका छन् । उनी माओबादीसँग गठबन्धन गरेर मेयरमा उम्मेदवार बनेका छन् । 


टिकट बितरणसँगै एमालेभित्र अन्तरसंघर्ष चर्किएको छ । असन्तुष्टहरुले बागी उम्मेदवारी हाल्ने तयारी पनि गरेका छन् । लिमचुङब्ङ गाउँपालिका अध्यक्षका चर्का दावेदार पुराना एमाले नेता यादवकुमार राईले टिकट नपाएपछि बागी हाल्ने घोषणा गरेका छन् । आईतबार विहान गाईघाटमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले आफुलाई बेवास्ता गरेकाले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको घोषणा गरेका हुन् ।