चुनावमा उठ्न धमाधम राजीनामा दिदै जनप्रतिनिधि

२0७९ बैशाख ९ शुक्रबार
चुनावमा उठ्न धमाधम राजीनामा दिदै जनप्रतिनिधि

गाईघाट

आसन्न स्थानीयतहमा पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने अनिवार्य प्रावधान अनुसार धमाधम राजीनामा दिने क्रम चलेको हो ।


अन्य स्थानीयतहमा जस्तै त्रियुगा नगरपालिकामा बुधबारदेखि नै जनप्रतिनिधिहरुले राजीनामा दिन थालेका छन् । त्रियुगाका १६ वडामध्ये एक मात्र महिला वडाध्यक्ष पशुपति चौधरीले पनि राजीनामा दिएकी छिन् । ०७४ मा एमालेबाट विजयी वडाध्यक्ष चौधरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी)बाट आउँदो चुनावका लागि सर्वसम्मत नाम सिफारिस गरेपछि पुनः उठ्न राजीनामा दिएकी हुन् । 


बुधबारदेखि नै राजीनामा दिने क्रम चलेकोमा शुक्रबारसम्म आईपुग्दा ३ दर्जन जनप्रतिनिधिले पद त्यागिसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार शुक्रबासम्ममा ३१ जना जनप्रतिनिधीले राजिनामा दिईसकेका छन् ।


शुक्रबार मात्र २ नं. वडाध्यक्ष घमानसिंह खत्री (धु्रब), ५ नं. वडाध्यक्ष उद्धवसिंह थापा (केदार) १३ नं. वडाध्यक्ष पशुपति चौधरी, वडा सदस्यहरु शिव रेग्मी, मानबहादुर मगर, जयराम पञ्जियार, कृष्ण बुढाथोकी, तारा सार्की, तनुकलाल चौधरीलगायतले पनि राजीनामा दिएका छन् ।


चुनावमा उम्मेदवार बन्ने चाहना राखेका अन्य वडाध्यक्ष र सदस्यहरुले पनि राजिनामा दिने तयारी गरिरहेको बताइएको छ । नगरप्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरी पनि उम्मेदवारको आकांक्षी भएकाले राजीनामा आउने कुरा सुनेको नगरपालिकाका एक कर्मचारीले बताए । 


निर्वाचन आयोगले बेरुजु भएका जनप्रतिनिधीले उम्मेदवार हुन नपाउने भएकाले वेरुजु फस्र्यौटको काम पनि धमाधम भईरहेको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधिले नगरपालिकाबाट बिभिन्न समयमा लिएको विभिन्न किसिमका सुविधाको महालेखा परीक्षण प्रतिबेदनले औंल्याएको छ । उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिहरु दिनहुँजसो बेरुजु फस्र्यौट गर्न नगरपालिका आईरहेको जनाइएको छ ।