निर्वाचन आचारसंहिताबारे पत्रकारसँग अन्तरक्रिया

२0७९ बैशाख ७ बुधबार
निर्वाचन आचारसंहिताबारे पत्रकारसँग अन्तरक्रिया

उदयपुर

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचनबारे पत्रकारहरुसँग छलफल भएको छ । चुनावको मिति नजिकिदै जाँदा निर्वाचन तयारी र पत्रकारहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउन निर्वाचन कार्यालय उदयपुरले अन्तरक्रिया कार्यक्रमको बुधबार आयोजना गरेको हो । 


‘निर्वाचनसम्ब्न्धी पत्रकार आचारसंहिता र हालसम्म्को अवस्था’कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले चुनाव तयारी र हालसम्मको प्रगतिबारे जानकारी गराए । उनले जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा निर्वाचन अधिकृतहरु खटाईसकिएको बताउँदै बिहीबारसम्ममा सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्ने जानकारी दिए । 


कोईरालाले मतदान गर्ने दिन आउन अव २३ दिन मात्र बाँकी रहेको भन्दै कार्यालयले गर्नुपर्ने आवश्यक सम्पूर्ण तयारीलाई तिव्रता दिईरहेको बताए । स्थानीयतहमा खटाइएका निर्वाचन अधिकृतहरु आवश्यक सामग्रीसहित बिहीबार एकैचोटी सम्बन्धित स्थानीयतहतर्फ जाने तयारी सकिएको र त्यहाँ गएर कार्यालय स्थापना गरेर सञ्चालन ल्याउने उनले बताए । 


मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दिपक खनालले वैशाख ३०) गते हुने स्थानीयतहको चुनावलाई स्वतन्त्र, निश्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारहरुलाई आग्रह गरे । चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले स्वच्छ, निश्पक्ष, भयरहित ढंगले चुनाव सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । 


न्यायाधीश खनालले सञ्चारमाध्यममा आउने ससाना समाचारले पनि महत्व राख्ने भएकाले त्यसतर्फ ध्यान दिनका लागि निर्वाचन आयोगले पत्रकार महासंघसँग मिलेर बनाएको आचारसंहिता लागू गर्न आग्रह गरे । निर्वाचन आचारसंहिताबारे स्वयं जनप्रतिनिधि, दलका नेता कार्यकर्ता र सर्वसाधरणसमेत जानकार नहुँदा कानुन आकर्षित हुने भन्दै मुख्य निर्वाचन अधिकृत खनालले त्यसबारे प्रष्ट पार्न मिडियाकर्मीको ठूलो भूमिका हुने बताए । 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै पंक्षले निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयन गरिदिन आग्रह गरे । उनले फेसवुक, मेसेन्जर, ट्विटरजस्ता सामाजिक सञ्जालमा कुनै पनि उमेदवार र तिनका परिवारलाई आरोप, लाञ्छना लगाउने खालका सामग्रीहरु प्रकाशन, प्रशारण गर्न नहुने तथा प्रशारित प्रकाशित सामग्रीलाई लाईक, कमेन्ट गर्न नहुनेतर्फ सचेत गर्दै खनालले असान्र्दभिक विषयबस्तुप्रति सजग रहन आग्रह गरे । 


पत्रकार महासंघ अध्यक्ष भरत खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकजना सूचना अधिकारी तोकेर नियमित निर्वाचनबारे सूचना पत्रकारलाई उपलब्ध गराउन मिडिया डेक्स स्थापना गर्न सुझाए । जतिधेरै सूचना प्रवाह भयो उत्ति नै निर्वाचन पारदर्शी, स्वच्छ र निश्पक्ष हुने भन्दै अध्यक्ष खड्काले सूचना प्रवाह गर्न कन्जुस्याई गरे पत्रकारहरुले सहयोग गर्न असहज हुनेतर्फ सचेत गराए । सूचना लुकाउन खोज्दा कहिले काही यथार्थ कुरा ओझेलमा पर्ने तथा समाजमा गलत सन्देश प्रवाह हुनसक्ने भएकाले समयमै सूचना उपलब्ध गराउन उनको आग्रह थियो । 


कार्यक्रममा अन्य पत्रकारहरुले तयारीदेखि मतपरिणामसम्मको समय र निर्वाचन हुने दिन अनुगमन गर्न पत्रकारलाई अझ बढी प्रेसर आउने भएकाले पत्रकार आवागमन सहज हुने व्यवस्था मिलाईदिन आग्रह गरेका थिए । उनीहरुले सञ्चारकर्मीहरु आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउँदै तर, त्यसका लागि प्रशासन, प्रहरी र राजनीतिक दलहरुबाट सहजीकरण हुनुपर्ने ग्यारेन्टी मागेका थिए । 


निर्वाचन अधिकारी कोईरालााले आचारसंहितामा भएको व्यवस्था, तयारीबारेमा कार्यपत्र प्रस्तुत गर्दै मतपत्र, चुनावमा खट्ने कर्मचारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, राजनीतिक दल, पत्रकार, निर्वाचन अधिकारीसँग अन्तरक्रिया कार्यक्रम तिव्ररुमा भईरहेको बताएका थिए ।