लिमचुङबुङमा डढेलो लाग्दा नग्रेमा जोखिममा

२0७९ बैशाख ४ आईतवार
लिमचुङबुङमा डढेलो लाग्दा नग्रेमा जोखिममा

लिमचुङबु्ङ
उदयपुरको लिमचुङबु्ङ गाउँपालिका २ तामलिछास्थित वनपाला जंगलमा डढेलो लाग्दा नग्रेमा बस्ती जोखिमा परेको छ । नग्रेमाभन्दा तलको वनपालामा आईतबार मध्यान्हदेखि लागेको डढेलोले गाउँ जोखिममा परेको हो । 


दिउँसो १२ बजेदेखि लागेको डढेलोले अहिलेसम्म सयौं रोपनी क्षेत्रफल जंगल नष्ट पारिसकेको वडाध्यक्ष भविन्द्र राईले बताए । राईका अनुसार वनपाला जंगलमा लागेको डढेलो फैलिदै गएर साँझसम्ममा नग्रेमा बस्तीमा आगो संक्रमण हुने खतरा बढेको छ । आगोले बस्ती छुन केही सय मिटर मात्र बाँकी रहेकाले स्थानीयहरु भेला भएर गाउँको सुरक्षामा जुटेको वडाध्यक्ष राईले बताएका छन् । 


‘जंगलमा डढेलो दनदनी फैलिदैछ, हामी बस्ती बचाउन सबै गाउँले भेला भएर सुरक्षामा खट्दैछौँ’ वडाध्यक्ष राईले मोवाईल सम्पर्कमा भने ‘अहिले बस्तीभन्दा ३÷४ सय मिटर तलसम्म डढेलो आईसकेको छ । गाउँमा आगो संक्रमण हुन नदिन सय मिटर तल अग्निरेखा कोरेर बस्ती बचाउने प्रयास गर्दैछौँ ।’ जंगलमा अग्निरेखा कोरेपछि जोखिम अलि कम हुने भए पनि हावा चलिरहेकाले अझै पूर्ण सुरक्षित भने नभएको स्थानीयको भनाई छ । 


आसन्न स्थानीयतह चुनावले गाउँलेलाई छोईसकेकाले धेरैजसो अगुवाहरु बैठक र छलफलमै व्यस्त रहनुपर्दा कतिखेर डढेलो कसरी लाग्यो भन्ने पत्तै नभएको अर्का स्थानीय जितेन राईले बताए । विहानदेखि पार्टीको बैठक भईरहेकाले डढेलो पैmलिएको कुरा बैठक सकिएपछि मात्र थाहा भएको वाईसिएल केन्द्रीय सदस्यसमेत रहेका उनले बताए । ‘हामी सबै उम्मेदवार तोक्न बैठकमा व्यस्त थियौँ’ उनले भने ।


स्थानीय जुनु राईले डढेलोले गाउँमा आगलागी हुने डरले गाउँले त्रसित भएका  बताईन् । गर्मी बढेर जंगल सुख्खा भएको बेला लागेको डढेलो तत्काल निभाउन नसके गाउँमा आगलागीको जोखिम हुने तामलिछा माविमा कक्षा १२ की विद्यार्थी रहेकी उनले बताईन् ।