माओबादीबाट अध्यक्षका आकांक्षीको सेवासुविधा नलिने घोषणा

२0७९ बैशाख ३ शनिबार
माओबादीबाट अध्यक्षका आकांक्षीको सेवासुविधा नलिने घोषणा

उदयपुर

नेकपा (माओबादी केन्द्र) ताप्ली गाउँपालिकाले अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको नाम सिफारिस गरेको छ । गाउँ पार्टी कमिटीको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष र उपाध्यक्ष दुवैमा आधादर्जन संख्यामा नाम सिफारिस गरेको हो । 


पार्टीले अध्यक्षमा ढुंगराज विक, गुरुप्रसाद पोखरेल, प्रेमबहादुर राई, मिलन तामाङ, पूर्णसिंह तामाङ र गौरसिंह राईको नाम सिफारिस गरेको छ । बिक पार्टीको गाउँपालिका इन्चार्ज हुन् भने पोखरेल गाउँ कमिटी अध्यक्ष हुन् । त्यस्तै सिफारिसमा परेका प्रेमबहादुर राई गाउँ पार्टी सहइन्चार्ज, पूर्णसिंह पार्टी ताप्ली सल्लाहकार परिषद संयोजक तथा वडा इन्चार्ज र गौरसिंह राई गाउँ कमिटी सदस्य हुन् ।


पार्टीले उपाध्यक्षमा पनि ५ जनाको नाम सिफारिस गरेको छ । पार्टी गाउँ कमिटी उपाध्यक्ष रेनुका बुढाथोकी, कोषाध्यक्ष प्रतिमा थापा, सदस्य अमृत माया बिक र फुलकुमारी तामाङको नाम उपाध्यक्षमा सिफारिस भएको गाउँ पार्टी अध्यक्ष ोखरेलले बताए । 


अध्यक्ष पोखरेलले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने पार्टी निर्देशन भए पनि स्थानीयस्तरमा तालमेल गर्ने विषयमा सत्ता सहयात्री पार्टीहरुबीच छलफल भईरहेको तर, टुंगो नलागेको बताए । छलफल निश्कर्षमा नपुगेका कारण पार्टीले उम्मेदवारको नाम सिफारिस गरी पठाएको पोखरेलले बताए । 


यसैबीच अध्यक्षमा नाम सिफारिसमा परेका मिलन तामाङले आफुले पार्टीले टिकट दिएर चुनाव जितेमा सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । पार्टीनिकट अखिल नेपाल शिक्षक संघ उदयपुरका सहसचिवसमेत रहेका तामाङले फेसबुकमार्फत नाम सिफारिस भएको सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी युवाहरुको नेतृत्व विकास र ताप्लीको समृद्धिप्रति केन्द्रित हुँदै सुशासनयुक्त र भ्रष्टाचारमुक्त गाउँ बनाउने बचन दिएका छन् । 


उनले कक्षा १२ सम्म निशूल्क शिक्षा, स्वस्थ्य विमा र निशूल्क उपचार, स्वच्छ खानेपानी, विद्युत, ताप्लीदेखि कटारी र गाईघाटसम्मको सडक कालोपत्रे, गाउँपालिका केन्द्रदेखिहरेक वडासम्मको सडक ग्रावेल र स्तरोन्नति गर्ने वाचा गरेका छन् । त्यसैगरी उत्पादनमा जोड दिएर रोजगारीको व्यवस्था, वडावडाबाट सरकारी सेवा सुविधा दिने, खेलकुद र बालबालिका तथा बृद्धबृद्धा र अपाङ्गताको व्यवस्थापन, सिंचाई, पुल र कृषि आधुनिकरणमा जोड दिदै बजार र पर्यटन विकासको योजना अघि सारेका छन् । 


ताप्ली पोखरीको भ्युटावरको निर्माणलाई पूर्णता दिदै पर्यटन विकासमा जोड दिने तथा पूर्वाधार विकास, दलित, जनजाति, महिला र अल्पसंख्यकको अधिकार सुनिश्चित गर्ने बचन पनि तामाङले दिएका छन् ।