त्रियुगामा को बन्ला मेयर ?

२0७८ चैत्र ३0 बुधबार
त्रियुगामा को बन्ला मेयर ?

उदयपुर

आगामी वैशाख ३० गते हुने भनिएको स्थानीयतह निर्वाचनमा त्रियुगा नगरपालिकामा धेरैले नगरप्रमुख (मेयर) बन्ने आकांक्षा देखाएका छन् । सदरमुकाम र जिल्लाको सबभन्दा ठूलो नगरपालिका भएकाले यहाँको स्थानीय सरकार प्रमुख बन्ने धोको धेरैमा हुनु अस्वाभाविक पनि होईन । 


हालका मेयर बलदेव चौधरी स्वयं पनि दोहोरिन चाहेका छन् । तर, सत्तारुढ दलहरुबीचको गठबन्धन भएको खण्डमा मात्र उनी उम्मेदवार हुने बताइएको छ । ०७४ को चुनावमा एमालेबाट मेयर जितेका उनी अहिले माधव नेपाल नेतृत्वको नेकपा (एस) का पोलिट्व्युरो सदस्य तथा प्रदेश अध्यक्षसमेत हुन् । 


सत्ता गठबन्धनमै रहेको नेकपा (माओबादी केन्द्र) बाट गत चुनावमा पराजित मेयर उम्मेदवार किरण राई पार्टीको तर्फबाट दह्रो आकांक्षी हुन् । पार्टी जिल्ला समन्वय समिति सचिवसमेत रहेका राई गठबन्धन गर्दा माओबादीको भागमा परे टिकट आफैलाई प्राप्त हुने र जित्ने दावा गरेका छन् ।  


सत्ता गठबन्धनको प्रमुख पार्टी नेपाली काँग्रेसमा आधादर्जन बढीले मेयरको आकांक्षा पालेका छन् । नगरसमितिबाट ६ जनाको नाम त सिफारिस नै भईसकेको छ । काँग्रेसले पार्टी जिल्ला उपसभापति भिमचन्द्र राई, अघिल्लो चुनावमा पराजित उम्मेदवार बसन्त बस्नेत, प्रदेश क्षेत्रीय सभापति सरोज बस्नेत, हालकी उपमेयर देवी चौधरी, नगर सभापति तथा १० नं. वडाध्यक्ष प्रकाश खड्का र विद्यार्थी नेता राकेश खत्रीको नाम सिफारिस गरिसकेको छ । नगरले गरेको सिफारिसमाथि प्रदेश समितिले विष्णुबहादुर राउत थपेर ७ जना आकांक्षीलाई माथिल्लो कमिटीमा सिफारिस गरेको पार्टी नगर सभापति प्रकाश खड्काले बताए । 


सत्ता गठबन्धनमा सहभागी जनता समाजबादी पार्टीले पनि मेयर नपाउँदा उपमेयरको अपेक्षा गरिरहेको छ । तर, सत्ता गठबन्धनमा आबद्ध दलहरुमध्ये काँग्रेसबाहेकले कसैको नाम टुंगो लगाईहालेको छैन । सकेसम्म गठबन्धनलाई तल्लोतहसम्म कायम राख्ने केन्द्रीय निदेर्शन अनुसार उनीहरुले नाम सिफारिस नगरेको नेकपा माओबादी नगर कमिटी अध्यक्ष गीता खड्का कार्कीले बताईन् । 

 

प्रमुख प्रतिपक्षी दल एमालेबाट पनि आधादर्जन मेयरका आकांक्षी रहेका छन् । 
पार्टी निवर्तमान अध्यक्ष इश्वरमणि राउत, जिल्ला सचिवालय सदस्य प्रकाश बस्नेत, हालका अध्यक्ष प्रमेश घिमिरे, भागवत राउत, टेकबहादुर राउत र गीता रेग्मीको नाम पार्टी नगर कमिटीले सिफारिस गरेको छ । 


उपमेयरतर्फ काँग्रेसले ४ जनाको नाम सिफारिस गरेको सरिता राई, तारा राई, शर्मिला थापा र कलावती चौधरी उपमेयरमा सिफारिस भएका सभापति खड्काले बताएका छन् । त्यस्तै एमालेबाट सिर्जना दनुवार, महेश्वरी राई भवानी थापा र सीता पौडेललाई उपमेयरमा सिफारिस गरेको नगर अध्यक्ष केशव घिमिरेले बताएका छन् ।