२९ वर्षीय पत्रकार कटारी नगरप्रमुखमा सिफारिस

२0७८ चैत्र २९ मंगलवार
२९ वर्षीय पत्रकार कटारी नगरप्रमुखमा सिफारिस

आसन्न स्थानीयतह निर्वाचनमा कटारीका एक पत्रकारको नाम नगरप्रमुखमा सिफारिस भएको छ । एमालेनिकट प्रेस चौतारी उदयपुरका अध्यक्षसमेत रहेका पत्रकार जिवनाथ दाहाल कटारी नगरपालिका प्रमुखमा एमाले नगर कमिटीले सिफरिस गरेको हो । 


पार्टीले आधादर्जन हाराहारी आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्दा पत्रकार दाहालको पनि नाम परेको एमाले नगर कमिटीले जनाएको छ । नगर कमिटीले उनीसहित ६ जनाको नाम मेयरमा सिफारिस गरेको छ । जसमा हालका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, विष्णु मुरी, रतन पोखरेल र संञ्जिव कार्की रहेका छन् । 


पत्रकार दाहालले पार्टीले टिकट दिएर विजयी भए कार्यकालभरी सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । २९ वर्षीय युवा दाहालले 
आफ्नो मुख्य लक्ष्य नगरपालिकामा सुशासन कायम राख्ने रहने बताए । नगरपालिकाबाट पाउने सेवासुविधा नलिएर सुशासन कायम गर्ने थालनी आफुले गर्ने उनको घोषणा छ । नगरपालिकाले वडाहरुलाई आर्थिक अधिकार दिएर शक्तिशाली बनाउदै जनतालाई वडातहबाटै सबैखाले सेवासुविधा दिलाउने पनि उनको योजना छ । 


दाहाल पत्रकारिता, समाजसेवा र शैक्षिक व्यवसायीसमेत हुन् । स्नातक उत्तिर्ण, विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहँदै आएका दाहाल एमालेनिकट अखिल नेपाल राािष्ट्रय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्यसमेत भईसकेका छन् । 


एमालेले उपमेयरमा कृष्णराज दनुवार, नेत्र श्रेष्ठ, गीता खड्कालगायत आधादर्जनको नाम सिफारिस गरेको जनाएको छ ।