रानोहोँछाको महाधिवेशन गाईघाटमा सुरु 

२0७८ चैत्र २७ आईतवार
रानोहोँछाको महाधिवेशन गाईघाटमा सुरु 

उदयपुर

देशका बिभिन्न भागमा छरिएर रहेका किरात राई रानोहोँछा समाजको तेस्रो महाधिवेशन आईतबारदेखि गाईघाटमा सुरु भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी उद्गमस्थल भई बिभिन्न भागमा छरिएर रहेका रानोहोँछाहरुलाई एकतृत गर्ने उदेश्यले गठित समाजको दुई दिने महाधिवेशन तथा साधारणसभा यहाँ आयोजना गरिएको हो । 


किरात राई चामलिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राईले उदुघाटन गरेको कार्यक्रम सोमबारसम्म चल्ने छ । महाधिवेशनले समाजको भावी रणनीति, योजना र कार्यक्रमसहितको बिभिन्न प्रस्तावहरुमाथि छलफल गर्दै नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने आयोजक समाजका उदयपुर संयोजक डिबी राईले बताए । 

 


उनका अनुसार उदयपुर, खोटाङ, झापा, मोरङ, सुनसरी र काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका रानोहोँछाहरुको महाधिवेशनमा सहभागिता रहेको छ । कार्यक्रममा समाजका अध्यक्ष धनकुमार राईले संस्थाको गठन इतिहास, वर्तमान अवस्था र भावी रणनीतिबारे प्रष्ट्याएका थिए । उनले आफुहरु किराती पुर्खा जैतासिङको सन्तान भएको जानकारी दिदै सबैतिर छरिएर रहेका रानोहोँछाहरुलाई सबै क्षेत्रमा सबल र सक्षम बनाउने योजना अघि सारे । 


कार्यक्रममा प्रमुख अतिथि खाम्बातिम अध्यक्ष युवराज राईले देशविदेशमा छरिएर रहेका किरातीहरु संगठन र समाज गठन गरेर एक ठाउँ हुनुपर्नेमा जोड दिए । चामलिङहरु मात्र ४ सयभन्दा बढी पाछा (थर)का रहेको भए पनि ठाउँ र बसाई सराईका कारण भाषा, संस्कार र मौलिक परम्परा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले त्यसको सुरक्षा गर्दै सभ्यता र संस्कार संस्कृतिको बचाउमा किरातीहरु सबै मिलेर लाग्नुपने बताए । 

 


भाषा, संस्कार र संस्कतिका हिसावले किराती समुदाय विश्वकै धनी भएको बताउँदै राईले पछिल्लो समय किराती संस्कारलाई थप सुदृढ गर्न खाम्बातिमले लिपीबद्ध मुन्दुम (बेद)को प्रकाशन गरी वितरण गर्दै आएको बताए । संस्कार संस्कृतिको विकास गर्न मुन्दुममा उल्लेख भए अनुसार विधि पछ्याउन आग्रह गर्दै उनले अव किरातीहरुले छोरीको विहेमा एक थान मुन्दुम पुस्तक थमाएर संस्कार र संस्कृति पछ्याउन थाल्नुपर्ने बताए । 


नेपालमा प्राप्त संघीयता र गणतन्त्तले सबै बर्ग र समुदायको अधिकार सुनिश्चित गर्ने भनिए पनि भाषाभाषी, संस्कार संस्कृति र पहिचानको विकास गर्न किरातीहरुले नसकेको दुखेसो गरे । १ नं. प्रदेश भाषा आयोगले नेपाली, थारु, मैथिली र लिम्बु ४ भाषालाई मात्र कामकाजको भाषाको मान्यता दिएको तर, बहुसंख्यक बोलचालको  चामलिङ भाषालाई कामकाजको भाषा नबनाएकोप्रति गुनासो गरे । चामलिङ भाषालाई आयोगले मान्यता नदिएकोमा खाम्बातिम र यायोक्खाले असहमति जनाएको भन्दै उनले तत्काल मान्यता दिनुपर्ने माग गरे । 


मुन्दुममा स्वर्ग र नर्कको विश्वास नहुने भएकाले किराती समुदाय प्रकृतिले जन्माएको आदिवासी धर्तीपुत्र भएकाले प्रकृति धर्म मान्दै आएको बताए । सबै किरातीको सुम्निमा पारुहाङलाई कसैकसैले शिव पार्वती भन्ने गरेको भन्दै त्यो कुरामा विश्वास नगर्न आग्रह गरे । अवदेखि पाछागत संगठनको नामको पछाडि ‘खाम्बातिम’ शब्द राख्न सुझाउँदै राईले त्यसो गर्दा सबै खाले किरातीहरु एकैठाउँ आउन सहयोग पुग्ने बताए । 

 


संघीय गणतन्त्र आए पनि नेपालमा किराती पहिचानलाई राज्यले बेवास्ता गरेको उनले बताए । प्रदेश राजधानी भारतीय सीमा जोगवनीनेर पु¥याउँदा पनि चुप लागेर बसेका किरातीहरुले किरात प्रदेश नामाकरण गर्न दबाब दिनुपर्नेमा जोड दिए । प्रदेशको नाम किरात राख्न सर्वत्र माग भईरहे पनि ठूला दलका नेताहरुले कोसी र सगरमाथाजस्ता पहिचानविहीन नाम राख्न दलिल गरेकोप्रति उनको असहमति थियो । राईले किरात प्रदेश नमाकरणका लागि खाम्बातिम र यायोक्खाले सशक्त आन्दोलन गर्न पछि नपर्ने पनि बताए ।


त्रियुगा जनता क्याम्पसका सहप्राध्यापक भाषाशास्त्री डा. कैलाश राईले किराती पुर्खाका ३ दाजुभाई सप्तकोसी चतारास्थित खुवालुङ आएर पहाड र तराईतिर छुटेको कथ्य बताउँदै उनीहरुकै सन्तानहरु राई, लिम्बु, याख्खा, सुनुवार, शेर्पा, तामाङ, मगर, गुरुङ, माझी, धिमाल, मेचेलगायत भएको बताए । एउटै पुर्खाका सन्तान कोही पहाड,  कोही तराई र कोही खोँचतिर जाँदा आदिवासी जनजाति भएको डा. राईको भनाई थियो । 

 


डा. राईले किराती राजा यलम्बर महाभारतकालभन्दा अगाडिदेखि राज्य चलाउँदै आएको प्रमाण पेश गरे । उनले महाभारत युद्धताका यलम्बरको राज्य मातहत १८ वटा किरात राज्यहरु रहेको र तिमध्ये कतिले कौरव र कसैले पाण्डव पक्षलाई समर्थन जनाएको बताए । 


कार्यक्रममा समाजका संस्थापकहरु भोजपुरकी सुश्री शिवमाया बान्तवा राई, सुनसरीकमी सूर्यकुमारी राई, मोरङकी सकुन्तला राई, खोटाङका देवी राई, इटहरीका पत्रकार विश्वराज किरात र अन्य स्वर्गीय संस्थापकहरुलाई मरणोपरान्त सम्मान गरिएको थियो । 


समाजका अगुवा बिएस राईले सुनसरी, मोरङ, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर र खोटाङलगायत दर्जन जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको महाधिवेशन सोमबारसम्म चल्ने बताए । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने पनि उनले बताए । ०६१ सालमा सुनसरीमा स्थापना गरिएको समाजको प्रथम महाधिवेशन धरान र दोस्रो ०६६ मा मोरङको पथ्रीमा सम्पन्न भएको थियो । 

 

कार्यक्रम उद्घाटन अवसरमा सुम्निमा संघकी अध्यक्ष छिला राईलगायत वक्ताहरुले समाजको महाधिवेशन सफलताको कामना मन्तव्य दिएका थिए । 

 

किवता संग्रह विमोचन 

कार्यक्रमको अवसरमा खोटाङका युवा कवि उदय रानोहोँछाको ‘प्यासी चातकहरु’ शीर्षकको कविता संग्रह विमोचन गरियो । प्रमुख अतिथि, समाज अध्यक्ष धनकुमार, सहप्राध्यापक डा. राई, यायोक्खाका केन्द्रीय सदस्य छिवाहाङ राई र समाजका अगुवाहरु शिवमाया बान्तवा राई तथा मणिकुमार राईलगायतले संग्रह विमोचन गरे । 


खोटाङ दिक्तेल रुपाकोट मझुवागढी लामाखुका कवि राईको यो कृति पहिलो हो । लामा छोटा ४० वटा कविता समेटिएको संग्रहमा अन्य कविताभन्दा पृथक र शास्त्रीय शैलीको भएको कविले बताए । कवि राईले कार्यक्रममा एउटा कृति वाचन गर्दै कविताको दुनियामा फरक र नविन शैली अपनाएर साहित्यको संसारमा प्रवेश गरेको दावी गरे ।