माओबादीको गठबन्धन लक्षित कार्यक्रम सम्पन्न

२0७८ चैत्र २६ शनिबार
माओबादीको गठबन्धन लक्षित कार्यक्रम सम्पन्न

उदयपुर

आसन्न स्थानीयतह निर्वाचनमा गठबन्धन गर्ने विषयमा नेकपा (माओबादी केन्द्र)ले चलाएको स्थानीयतहस्तरको बैठक उदयपुरका सबै पालिकामा सम्पन्न भएको छ । जिल्लाका ४ नगर र ४ गाउँपालिकामा आयोजित गठबन्धन लक्षित पार्टी विस्तारित बैठक शुक्रबार कटारी आएर सम्पन्न भएको हो । 


पार्टी जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल (दिवस)का अनुसार बेलका नगरपालिकादेखि सुरु स्थानीयस्तरको प्रशिक्षणात्मक बैठकहरु ८ वटै पालिकामा सम्पन्न भएको छ । सत्ता गठबन्धनमा रहेका ५ दलबीच आसन्न स्थानीयतह च्ुनावमा गठबन्धन गर्ने पार्टी धारणालाई तल्लो तहसम्म पु¥याउन पालिकास्तरीय बैठक बोलाइएको कटुवालले बताए । 


पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) नेतृत्वमा संयोजक कटुवाल, जिल्ला समन्वय सचिव किरण राई, प्रदेश इन्चार्ज, सदस्य तथा गाउँ इन्चार्ज र पदाधिकारी संलग्न टोलीले ८ वटै स्थानीयतह पुगेर गठबन्धन लक्षित बैठक सम्पन्न गरेको उनले बताए । 


आउँदो वैशाख ३० गते हुने भनिएको चुनावमा गठबन्धन गर्ने पार्टी केन्द्रीय निर्देशन अनुसार सबै पालिकामा पहिलो चरणको छलफल भएको केन्द्रीय सदस्य राईले बताए । उनका अनुसार सबै गाउँपालिका र नगपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यसम्ममा गठबन्धन बनाएर चुनाव लड्ने विषयमा नेता कार्यकर्ताबीच छलफल भएको छ । 


सबै स्थानीयतहमा गठबन्धन लक्षित कार्यकर्ता भेला तथा प्रशिक्षणात्मक बैठक सम्पन्न भएको र सत्ताधारी दलहरुबीच हाल कायम केन्द्रीय गठबन्धनलाई तल्लोतहसम्म पु¥याउन पार्टीका अगुवा नेता कार्यकर्तालाई निर्देशनात्मक आग्रह गरिएको उनको भनाई छ । स्थानीयतह चुनावदेखि प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायम राखेर जाने दलहरुबीचको निर्णय कार्यान्वयन गराउन आफुहरु नेता कार्यकर्तासँग छलफल गर्न सहभागी भएको उनको भनाई थियो । 


संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक व्यवस्थाजस्ता प्राप्त उपलब्धीलाई प्रतिगामी शक्तिबाट खतरा रहेको भन्दै त्यसबिरुद्ध गठबन्धन वडातहसम्म कायम राख्नुपर्ने आवश्यक्ता राईले औँल्याएका छन् । हिजोसम्म चुला चौकामा सीमित महिलाहरु अहिले राज्यसत्ता सञ्चालन गर्ने ठाउँमा पुग्नु, गरिव, बिपन्न मजदुर किसानलाई अधिकार सम्पन्न गराउन, दलित, पिछडा बर्ग र सीमान्तकृत समुदायको उत्थान र विकास गर्न भएको १० वर्षे जनयुद्धको उपलब्धी रक्षा गर्न बाम–लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको राईले बताए । 


गणतन्त्र र संघीयता ल्याउन लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसको पनि अहं भूमिका भएकाले माओबादीले उलगायत लोकतान्त्रिक शक्तिहरुसँग गठबन्धन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राईले बताए । हजारौंको रगत पसिनासँग साटेर प्राप्त भएको उपलब्धी गुम्न नदिने जिम्मा पनि माओबादीकै काँधमा आएकाले लोकतान्त्रिक शक्तिहरुसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता उनले औँल्याएका छन् । 

विस्तारित बैठकहरुमा अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मणि खम्बु (रिवासी), संविधानसभा सदस्य मोहन खत्री (दिपक) र भेषकुमारी राउत (कोपिला), प्रदेश कमिटी सदस्यहरुले पनि गठबन्धनमा जोड दिएका छन् । सबै स्थानीयतहस्तरीय बैठकहरुमा भूगोलका नेता कार्यकर्ताको मिस्रित राय दिएको तर, गठबन्धन गर्नको विकल्प नभएकोमा सहमति जनाएको पार्टीले जनाएको छ । 


पार्टीले समग्र जिल्लामा ०७४ को दाँजोमा संगठन सुधार भएको निश्कर्ष निकाल्दै्र कतिपय ठाउँमा गठबन्धन आवश्यक नभए पनि केन्द्रीय नीति अनुसार गठबन्धन गरेरै जाने पार्टी निश्कर्ष रहेको समन्वय सचिव किरण राईले बताए । 


०७४ को स्थानीयतह चुनावमा ८ मध्ये चौदण्डीगढी नगरपालिका मेयर, उपमेयरसहित बहुमत काँग्रेस र लिमचुङबु्ङ गाउँपालिका अध्यक्षमा माओबादीबाहेक बाँकी ६ वटै गाउँ नगरपालिका एमालेले कब्जा जमाएको थियो । तर, नेकपा फुटपछि त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका मेयर÷अध्यक्षसहित बहुमत जनप्रतिनिधि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) मा समाहित भएका छन् । 


काँग्रेसले पनि संगठन सुदृढ गरेको दावी गर्दै बलियो अवस्था प्रस्तुत गर्दै आएकाले गठबन्धनको विषयमा निकै रस्साकस्सी हुने देखिएको छ । तर, केन्द्रमा सत्तामा सहभागी सबै दलहरु गठबन्धनको पक्षमा रहेकाले सबै स्थानीयतहमा वस्तुपरक र यथार्थताको धरातललमा उभिएर गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् ।