गठबन्धन गर्न माओबादी त्रियुगा नगर कमिटीमा छलफल 

२0७८ चैत्र २३ बुधबार
गठबन्धन गर्न माओबादी त्रियुगा नगर कमिटीमा छलफल 

गाईघाट

आसन्न स्थानीयतह निर्वाचनमा गठबन्धन गर्न सत्तारुढ दलमध्येको एक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्रियुगा नगर समितिले छलफल अघि बढाएको छ । पार्टी नगर कमिटीको मंगलबार आयोजित प्रथम बिस्तारित बैठकले सत्ता गठबन्धनलाई तल्लो तहसम्म कायम राख्दै आउँदो निर्वाचनमा जाने निश्कर्ष निकालेको छ । 


गाईघाट स्थित होटल टाउनहलको सभभाकक्षमा सम्पन्न बैठकमा १६ वटै वडा कमिटीको तर्फबाट पार्टी अध्यक्षले वडाको वस्तुगत अवस्थाबारे जानकारी गराएका थिए । वडागत रिपोर्ट सुनिसकेपछि केन्द्रीय सदस्य तथा सांसद सुरेशकुमार राई (हिमाल) ले गठबन्धन गरेर जाने पार्टीको केन्द्रीय नीति रहेकाले सोही अनुसार अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । 


उनले पार्टींको वस्तुगत अवस्था, भुगोलको स्थिति, सांगठनिक धरातल र जनताको चाहना र भावना अनुसार गठबन्धन को कोसँग कसरी गर्ने भन्ने तय गरिने बताए । सत्ता गठबन्धन दलहरुबीच नै चुनावी गठबन्धन पनि गरिने भन्दै जिल्ला इन्चार्जसमेत रहेका सांसद राईले त्यसका लागि धरातलीय यथार्थ बुझेर अघि बढ्न र त्यही अनुसार तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । 


कार्यक्रममा अर्का केन्द्रीय सदस्य मणि खम्बु (रिवासी), प्रदेश सदस्य तथा संघीय निर्वाचन क्षेत्र १ का इन्चार्ज द्रोण पौडेल (निरज) प्रदेश सदस्य सम्झना पाख्रिन (योद्धा), जिल्ला समन्वय सचिव किरण राई, पार्टी नगर कमिटी उपाध्यक्ष मानबहादुर राईलगायतले गठबन्धन गर्दा बस्तुबादी र यथार्थ अवस्थाको आँकलन गरेर मात्र गर्नुपर्नेमा जोड दिएका थिए ।


नगर कमिटी अध्यक्ष गीता खड्का कार्की (अजिता)को अध्यक्षता र सचिव कुरुङ राईको सञ्चालनमा सम्पन्न बैठकले निकालेको निश्कर्षलाई अक्षरशःपालना गर्ने निर्णय भएको पार्टीका नगर प्रवक्ता गजेन्द्र राईले बताए ।