राप्रपाले सबै स्थानीयतहमा उम्मेदवारी दिने

२0७८ चैत्र १८ शुक्रबार
राप्रपाले सबै स्थानीयतहमा उम्मेदवारी दिने

उदयपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो स्थानीयतह चुनावमा सबै ठाउँ उम्मेदवारी दिने जनाएको छ । गाईघाट लोकतान्त्रिक चोकमा आयोजित शुक्रबार आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सबै स्थानीयतहमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 


आउँदो वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा राप्रपाबाट कोही उम्मेदवारी दिन चाहे आउन आव्हान पनि गरे । लिङदेनले ठाउँ नपाएका, क्षमतावान र निश्कलंक व्यत्तिहरु जुनसुकै पार्टीमा भए पनि काम गर्न इच्छा जाहेर गरेर आए राप्रपाले टिकट दिएर उम्मेदवार बनाउने बताए ।


उनले चुनावमा कसैसँग सहकार्य नगर्ने पनि बताए । अध्यक्ष लिङदेनले काँग्रेस, एमाले र माओबादीले देश बिगारेको हुनाले सच्याउन राप्रपालाई भोट दिन आग्रह गर्दै आफ्नो पार्टी देशको वैकल्पिक शक्ति रहेको दावी गरे । काँग्रेस, एमाले र माओबादीलाई जनताले देश बनाउन पटक पटक मौका दिएको तर, उनीहरुले केही गर्न नसकेको आरोप लगाउँदै उनले प्रश्न गरे ‘शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड र माधव नेपाललाई कति पटक मौका दिए देश बनाउलान् ? अहँ, बनाउँदैनन्, बनाउने भए उहिल्यै बनाईसक्थे, त्यसैले अव राप्रपाले बताउँछ ।’


राजा भएको बेला र अहिलेमा झन् देशको परिस्थिति बिग्रेको देख्ने लिङदेनले राजा हटेको १५ वर्षसम्मा देशमा झन् अवस्था बिग्रेको ठहर गरे । अध्यक्ष लिङदेनले राजतन्त्र फालेपछि ठूला दलका सीमित नेताहरुको अवस्था मात्र बद्लिएको तर, देशवासी जनताको अवस्था झन् बिग्रदै गएको भन्दै त्यसको मुख्य कारण भ्रष्टाचार, घुसखोरी र कमिशनतन्त्र भएको बताए । 


राप्रपाले त्यतो बेथिति हटाउने दावी गर्दै उनले त्यसका लागि राप्रपालाई एकपटक मौका दिनुपर्ने जिकिर गरे । राप्रपाले कसैलाई भष्टाचार गर्न नदिने र आफु पनि नगर्ने भन्दै उनले ‘घुस र कमिशन खानु भनेको आमाको रगत खानुसरह’ भएको दोहो¥याए । राप्रपा घुस कमिशन नखाने र खान पनि नदिने पार्टी भएको भन्दै देश र जनताप्रति इमान्दार र प्रतिबद्ध उदाउँदो वैकल्पिक शक्ति भएको दावी गरे । 


अध्यक्ष लिङदेनले काँग्रेस, एमाले र माओबादीबाट जनता वाक्क भईसकेको भन्दै 
 विकल्पको खोजीमा लागेको बताए । संघीयता र गणतन्त्रको नाममा ठूला पार्टीका नेताहरु पालैपालो सत्तामा पुगेपनि राम्रो काम गर्न नसकेको आरोप उनको थियो । मिलेर खान चाहि नेताहरु माहिर रहेको भन्दै लिङदेनले वाईडबडी, एनसेल कर छलीजस्ता ठूलठूला घोटालामा तीनै पार्टीका नेताहरु मिलेर भ्रष्टाचार गर्ने गरेको उनको आरोप थियो । 


राप्रपा सत्तामा आए ५० प्रतिशतसम्म कर कटौती गर्ने, कक्षा १२ सम्म शिक्षा निशूल्क गर्ने तथा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँ पु¥याउने उनको आश्वासन थियोे । घरमै स्वास्थ्यकर्मी टोली खटाएर सर्वसाधारण जनतालाई आधारभूत स्वास्थ्य जाँचको सुविधा दिने आश्वासन पनि उनले दिए । 


सिंहदरवारको नाम दिइएको स्थानीयतहमा सिंहदरवारको अधिकार मात्र नआएर भ्रष्टाचार पनि सँगै आएको उनको भनाई थियो ।  कार्यक्रममा पूर्व अभियन्त्रा ज्ञानेन्द्र शाही, पूर्वमन्त्रीद्वयहरु रामकुमार सुब्बा, हरिबहादुर बस्नेत र विक्रम पाण्डेलगायतले पनि बोलेका थिए । कार्यक्रममा बिभिन्न पार्टी त्यागेर राप्रपामा प्रवेश गर्नेहरुलाई  अध्यक्ष लिङदेनलगायतले स्वागत गरेका थिए । 

कार्यक्रममा नायिका रेखा थापालागयत कलाकारहरु पनि ल्याउने प्रचार गरिएको थियो । कलाकार र लिङदेनको भाषणा सुन्न बिभिन्न स्थानीयतहबाट जनमानस गाईघाट भेला भएका थिए ।