उदयपुरमा २ लाख २३ हजार मतदाता 

२0७८ चैत्र १६ बुधबार
उदयपुरमा २ लाख २३ हजार मतदाता 

उदयपुर

आगामी वैशाख ३० गते तोकिएको स्थानीयतह निर्वाचनमा उदयपुरमा सवा २ लाखले मतदान गर्न पाउने भएका छन् । चुनावको अघिल्लो दिन ०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुरा गरी बालिग मताधिकार प्रयोग गर्ने हक राख्नेको संख्या २ लाख २३ हजार १ सय ३८ पुग्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । 


उदयपुरमा ४ नगरपालिका तथा ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहहरु छन् । ती स्थानीयतहमा मतदानस्थल ९८ ठाउँ रहनेछन् भने मतदान केन्द्र्र २ सय ५८ वटा रहने निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । उनका अनुसार मतदाताको संख्या महिलाभन्दा बढी पुरुष रहेका छन् । महिला १ लाख १० हजार २ सय ५१ रहदा पुरुष मतदाता १ लाख १२ हजार ८ सय ८५ छन् । तेस्रो लिङ्गी (अन्य) मतदाता २ जना रहेको उनले बताए । 


सबभन्दा बढी मतदाता सदरमुकाम त्रियुगा नगरपालिकामा छन् भने सबभन्दा कम लिमचुङबुङ गाउँपालिकामा । त्रियुगामा २९ हजार ६ सय ९३ महिला, ३० हजार ३ सय ५१ पुरुष तथा २ अन्य गरी ६० हजार ४६ मतदाता छन् । २५ मतदानस्थल रहेको त्रियुगामा ७० मतदान केन्द्र तोकिएको छ । 


दोस्रो ठूलो मतदाता रहेको चौदण्डीगढी नगरपालिकामा ३८ हजार ४ सय ९४ मतदाता छन् । १८ हजार ८ सय ८३ महिला र १९ हजार ६ सय ११ पुरुष मतदाता रहेको चौदण्डीगढीमा १६ मतदातस्थल र ४६ मतदान केन्द्र रहने निर्वाचन कार्यालयको भनाई छ । त्यस्तै कटारी नगरपालिका तेस्रो धेरै मतदाता रहेको स्थानीयतह हो । 


कटारीमा १८ हजार ८ सय ५८ महिला र १८ हजार ५ सय ८८ पुरुष गरी ३८ हजार ६ सय ११ मतदाता छन् । कटारीमा १५ मतदानस्थल र ४३ मतदान केन्द्र रहनेछ । कान्छो नगरपालिका बेलकामा २३ हजार ६ जना मतदाता छन् । १६ हजार ६ सय ९६ महिला र १६ हजार ३ सय १० पुरुष मतदाता रहेको बेलाकामा ९ मतदानस्थल र ३५ मतदान केन्द्र रहनेछन् ।


गाउँपालिकातर्फ सबभन्दा कम मतदाता लिमचुङबुङमा ८ हजार ४ सय ९४ जना छन् । ४ हजार ४ सय १५ महिला र ४ हजार ७९ पुरुष मतदाता रहेको लिमचुङब्ङमा ७ वटा मतदानस्थल र १२ मतदान केन्द्र रहने बताइएको छ । उता ताप्ली गाउँपालिकामा ५ हजार १ सय ८ महिला र ४ हजार ८ सय २३ पुरुष गरी जम्मा ९ हजार ९ सय ३१ म्तदाता छन् । ताप्लीमा मतदानस्थल ७ र मतदान केन्द्र १२ रहनेछ । 


रौतामाई गाउँपालिकामा ७ हजार ५ सय ८५ महिला तथा ६ हजार ८ सय ८४ पुरुष मतदाता छन् । ८ वटा मतदानस्थल र १७ वटा मतदान केन्द्र रौतामाईमा रहने निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिकातर्फ सबभन्दा बढी मतदाता उदयपुरगढीमा छन् । 


महिला १० हजार ६ सय ४७ तथा पुरुष ९ हजार ६ सय ५ मतदाता रहेको उदयपुरगढीमा २० हजार २ सय ५२ मतदाता छन् भने ११ मतदानस्थल र २६ मतदान केन्द्र रहनेछ । निर्वाचन कार्यालयले चुनावका लागि आवश्यक सबै तयारी गरिरहेको अधिकारी कोईरालाले बताएका छन् ।