त्रियुगा नगरपालिकाको प्रशासनिक भवन बन्ने 

२0७८ चैत्र १६ बुधबार
त्रियुगा नगरपालिकाको प्रशासनिक भवन बन्ने 

उदयपुर, 

सदरमुकाम त्रियुगा नगरपालिले प्रशासनिक भवन निर्माण गर्ने भएको छ । जनप्रतिनिधिको कार्यकाल अन्तिम भएको बेला नगरपालिकाले भवन बनाउने गरी सिल्यान्यास गरेको हो । 


वडा नं. १० बाँसबारीस्थित नगरपालिकाको झण्डै २ बिगाहा क्षेत्रफल जमिनमा आलिसान र सुविधासम्पन्न भवन बनाउने गरी भर्खरै सिल्यान्यास भएको छ । नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित ‘रजत महोत्सव’ मा नगरप्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले भवनको शिलान्यास गरे । 


भवन विद्युतीय भर्याङ (लिफ्ट)सहितको अत्याधुनिक र सुबिधासम्पन्न ८४ कोठाको हुने बताइएको छ । नगरपालिकाका सहरी पूर्वाधार शाखा प्रमुख ईन्जिनियर निर्मलकुमार चौधरीले १६ करोड ५० लाख लागत इस्टीमेट रहेको भवन ४ तले हुने बताए । 


शिलान्यास कार्यक्रममा मेयर चौधरीले नगरवासी सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गर्न लागेको बताए। संघीय सरकारबाट ६ करोड बजेट सुनिश्चित भएको भवन बनाउन बाँकी रकम नगरपालिकाले आन्तरिक स्रोतबाट जुटाउने उनको भनाई छ‌‌। मेयर चौधरीका अनुसार त्रियुगाका संस्थापक मेयर स्वर्गीय लालशेर राईले ०५६ सालमा निर्माण गरिदिएको भवन साँघुरो भएकाले नयाँ भवन बनाउन लागिएको हो । 


मेयर चौधरीले नयाँ भवन बनेपछि नगरबासीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको बताए । आफु मेयर भएर आएदेखि नै नयाँ भवन बनाउन खोजे पनि स्रोत सुनिश्चित गर्न नसक्नुका साथै ऐन कानुन बनाउन तथा कोविड महामारी पन्छाउन लाग्दा ढिला भएको बताए । उनका अनुसार बिगत वर्षकै नगरसभाले प्रशासनिक भवन निर्माण गर्ने योजना पास गरिसकेको थियो । तर, पहिलो वर्ष ऐन, कानुन बनाउदै बितेको, दोश्रो वर्ष बजेट अपुग र तेश्रो तथा चौथो वर्ष कोभिडमा बजेट खर्च गर्नु पर्दा भवन बनाउन समय लागेको उनको भनाई थियो । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले हालको ३ तले भवन साँघुरो भएकाले विषयगत शाखाहरु राख्न अन्य भवनको प्रयोग गर्नुपरेको बताए । भवन सानो भएका कारण स्वास्थ्य, शिक्षा र कृषि शाखालाई बोक्सेस्थित साविक महिला तथा बालबालिका कार्यालयमा राख्नु परेको छ भने अन्य विषयगत कार्यालय राख्नसमेत भवन साँघुरो भएको ढकालले बताए । उनका अनुसार सबै काम एकै ठाउँबाट सञ्चालन गर्न बहुकोठे भवन बनाउन लागिएको हो ।