किरात प्रदेश नाम राख्न माग गर्दै बिराटनगरमा र्याली

२0७८ फाल्गुन २६ बिहीबार
किरात प्रदेश नाम राख्न माग  गर्दै  बिराटनगरमा र्याली

 उदयपुर

किरात प्रदेश नामाकरणको माग गर्दै विराटनगरमा बिहीबार बृहत प्रदर्शन भएको छ। १ नं. प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने माग गर्दै किरात राई यायोक्खा सुनसरी र मोरङले विराटनगरमा प्रदर्शन गरेका हुन्। 


किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै सुनसरीको धरानबाट सुरु मोटरसाइकल र्‍यालीसहितको जुलुसले विराटनगरको विभिन्न भागको परिक्रममा गरी मुख्यमन्त्री कार्यालयअगाडि र प्रदेशसभा अगाडि प्रदर्शन गरेको हो । धरानबाट आएको समूहमा मोरङ यायोक्खाको अर्को समूह पनि मिसिएर जुलुस निस्केको थियो । 


बजार परिक्रमाको क्रममा प्रदर्शनकारीहरुले पहिचानसहितको संघीयता कायम गर, पहिचान विरोधीहरु होसियार, पहिचानवादी एक हौं, किरात प्रदेश नामाकरण गर् लगायत नारा लगाएका थिए। प्रदर्शनकारी समूहको नेतृत्व गरेका किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई नेतृत्वको टोलीले प्रदेश स्वास्थ्यमन्त्री तथा प्रदेश नामाकरण समिति संयोजक जयराम यादवलाई स्मरणपत्र बुझाएको थियो । 


टोलीले बुझाएको स्मरणपत्रमा किराँत प्रदेश नामाकरण गर्न माग गरिएको छ । स्मरणपत्रमा प्रदेशको नाम किरात नै राख्नुपर्ने र सोही प्रस्ताव प्रदेशसभामा निर्णायार्थ प्रस्तुत गर्नुपर्ने जिकिर गरेकोछ । प्रदेशको नामाकरण छिट्टै हुनुपर्ने र पहिचान अनिवार्य समेट्नुपर्ने माग पनि स्मरणपत्रमा छ । 


स्मरणपत्र बुझ्दै मन्त्री तथा संयोजक यादवले सबैको सुझाव अनुसार प्रदेश नामाकरण गरिने आश्वासन दिए । उनले प्रदेशको नाम पहिचानको आधारमा राख्ने प्रयास भईरहेको बताए । तर, जातीय कि भौगोलिक पहिचानको आधारमा नामाकरण गर्ने भन्ने विषयमा तीव्र मतभेद रहेको भन्दै यादवले पहिचान समेटेर नै नाम राख्ने तयारी भईरहेको बताए ।