उदयपुरबाट ३ महिनामा ९ हजारले लाईसेन्स निकाले

२0७८ फाल्गुन ९ सोमबार
उदयपुरबाट ३ महिनामा ९ हजारले लाईसेन्स निकाले

उदयपुर

यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, उदयपुृरबाट ३ महिनाको अवधिमा ९ हजारले सवारी अनुमतिपत्र (लाईसेन्स) निकालेका छन् । गएको कात्तिक अन्तिम सातादेखि लाईसेन्स बितरण गर्ने अधिकार पाएको कार्यालय माघ मसान्तभित्र सो परिमाणको लाईसेन्स बितरण गर्न सफल भएको हो । 


लाईसेन्स निकाल्नेहरुमा अधिकतर मोटरसाईकल चालक रहेका छन् । मंसिर सुरुदेखि माघ अन्तिमसम्ममा मोटरसाईकल चालक मात्र ७ हजार बढीले लाईसेन्स लिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सुवासजंग कार्कीका अनुसार लाईसेन्स लिनेमा सबभन्दा बढी मोटरसाईकल चालक अर्थात ‘ए’ बर्गका रहेका छन् । 

 
मोटरसाईकलको लाईसेन्स बितरणबाट मात्र कार्यालयलाई ३ महिनाको अवधिमा ५२ लाख ५४ हजार ५ सय रुपैँया संकलन भएको कार्कीले बताए । दोस्रो ठूलो लाईसेन्स लिनेको हिस्सा स्कटर चालक अर्थात ‘के’ बर्ग रहेको छ । स्कुटर चालकबाट मात्र लाईसेन्स लिएवापत कार्यालयलाई १३ लाख ५० हजार ५ सय रुपैँया आमदानी भएको छ । 


त्यसैगरी ‘बी’ अर्थात कार, जीपको लाईसेन्स बितरण गर्दा १२ लाख २६ हजार ५ सय राजश्व संकलन भएको छ । ‘सी’ बर्ग अर्थात अटो, म्याजिक सवारी चालक अनुमतिपत्र बितरण गरेवापत १ लाख १५ हजार ५ सय जम्मा भएको छ भने ‘सी–वान’ अर्थात इरिक्साको लाईसेन्सबाट १३ हजार ५ सय जम्मा भएको छ । 


त्यसैगरी ‘इ’ अर्थात ट्याक्टर चालक अनुमतिपत्र बितरणबाट ३९ हजार जम्मा भएको छ भने ‘जे–वान जे–टु’ अर्थात डोजर, जेसिबीको लाईसेन्सबाट १४ हजार ५ सय जम्मा भएको कार्यालय प्रमुख कार्कीले बताए । 


कार्यालयले लाईसेन्स र अन्य सवारी साधन दर्ता तथा नविकरणसहित चालु आर्थिकवर्ष माघ मसान्तसम्म ५ करोड २५ लाख ८२ हजार २ सय ९८ रुपंैँया राजश्व संकलन गरेको छ । जसमध्ष्ये सवारीतर्फ ४ करोड ३२ लाख ३१ हजार ७ सय ९८ र लाईसेन्सतर्फ ९३ लाख ५० हजार ५ सय संकलन भएको हो ।  


कार्यालयका अधिकृत योगेश्वर खनालका अनुसार यातायात व्यवस्था सेवा कार्यालय गाईघाट ०७२ देखि सञ्चालनमा आएको हो । तर, सवारी दर्ता र नामसारीलगायत काम गर्ने अधिकार मात्र पाएको कार्यालयलाई प्रदेश सरकारले कात्तिक अन्तिमदेखि लाईसेन्स बितरण गर्नेसमेत अधिकार दिएको खनालले बताए ।