ठेकेदारको लापरबाहीः २ वर्षमा सकिने पुल ४ वर्षसम्म आधा पिल्लर

२0७८ फाल्गुन ६ शुक्रबार
ठेकेदारको लापरबाहीः २ वर्षमा सकिने पुल ४ वर्षसम्म आधा पिल्लर

धाब्लाङ (उदयपुर) 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ४ वर्षअघि तामझामका साथ सिल्यान्यास गरेको उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित पक्की मोटरेबल पुल अलपत्र अवस्थामा पुगेको छ । २०७४ भदौ ३१ गते प्रधानमन्त्री देउवाले उदयपुरलाई खोटाङसँग जोड्ने धाब्लाङ र भोजपुरसँग जोड्ने रानीटारस्थित सुनकोसी नदीमा दुईवटा पक्की पुलको एक घण्टाको फरकमा सिल्यान्यास गरेका थिए । 


विभागीय मन्त्री, मन्त्रालयका सचिव, पुल विभागका महानिर्देशक, नेता कार्यकर्ता र सुरक्षाकर्मीसहित नेपाली सेनाको कलसाईन ‘एनए ०५७’ हेलिकोप्टरमार्फत आएका देउवाले  पुलको सिल्यान्यास गर्दै २ वर्षभित्र दुवै पुल बनिसक्ने बताएका थिए । उनले खोटाङ र भोजपुरसमेत ३ जिल्लाबासीको सरोकारवाको विषय भएकाले तदारुक्ताका साथ काम गरेर म्यादभित्रै काम सक्न कार्यक्रमबाटै सम्बन्धित मन्त्रालय र विभागमार्फत ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिएका थिए । 

तर, पुल सिल्यान्यास भएको साढे ४ वर्ष बितिसक्जदासम्म काम भने २० प्रतिशत पनि हुन सकेको छैन । त्रियुगा नगरपालिका १४ साउनेको धाब्लाङ र खोटाङ बाराहापोखरी गाउँपालिका २ बीच जोड्ने उक्त पुल निर्माण गरिसक्नुपर्ने म्याद ०७६ असार ३० गतेसम्म हो । सम्झौता अनुसार सिल्यान्यास भएको २ वर्षभित्र निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा अहिलेसम्म २० प्रतिशत मात्र प्रगति भएको छ । 


कोसीवारि र पारि पिल्लर गाड्नेबाहेक अन्य केही प्रगति नभएपछि स्थानीयबासी आक्रोसित भएका छन् । निर्माण कम्पनीको लापरबाहीका कारण पुलको काम अलपत्र परेको भन्दै त्रियुगा १४ का वडाध्यक्ष कुरुङ राईले काम नगर्ने ठेकदारलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । 


खोटाङ बाराहापोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले पनि समयमा काम नभएको कारण गाउँपालिकाबासीलाई धेरै तखलिप भएको गुनासो गरे । ठेकेदारलाई काम छिटो सक्न ताकेता गर्दै विभाग र मन्त्रालय तथा प्रधानमन्त्रीसम्मलाई भेटेर गुनासो गर्दा पनि काम अघि नबढाएकोमा उनको गुनासो छ । गाँपालिकादेखि जिल्ला समन्वय समितिसम्मबाट लिखित र मौखिक ताकेता भईरहे पनि ठेकेदारले बेवास्ता गरेको उनको गुनासो छ । त्यस्ता ठेकदारलाई नियमन निकायले कारबाही गर्नपर्ने अध्यक्ष बन्जराको सुझाव छ । 


प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले समयमा पुृल नबन्दा खोटाङको दक्षिणीभेगका झण्डै २५÷३० वडाबासी जनता प्रभावित भएको बताए । उनका अनुसार बाराहापोखरीका ६ वटा वडाका १८ हजार जनसंख्याको मुख्य आउजाउ गर्ने नाका त्यही पुल भएर चल्ने धाब्लाङ हो । वनले व्यापार व्यवसाय र उपभोग्य सामग्री खरिदबिक्रीदेखि औषधि उपचारलगायत धेरैजसो काम उदयपुर सदरमुकाम गाईघाट आउजाउ गर्नुपर्ने बताए ।


जिल्ला सदरमुकाम दिक्तेलभन्दा गाईघाटसँग बढी बाराहापोखरीबासीको उठबस हुने गरेकाले अधिकतर व्यापार व्यवसाय र कारोबार गाईघाटसँग हुने गरेकाले पनि धाब्लाङ पुल छिटो बन्नुपर्ने आवश्यक्ता रहेको वनले बताए । उनका अनुसार गाईघाटबाट गाउँपालिका छिर्ने मुख्य नाका नै धाब्लाङ भएकाले त्यहा पुल ढिलो बन्नु भनेको जनतालाई सास्ती दिनु हो । अधिकृत वनले गाउँपालिका केन्द्र बाराहादेखि धाब्लाङसम्म कच्ची सडक स्तरोन्नतिको काम चालुवर्ष सुरु भएको छ । 


गाउँपालिकाले बिनियोजन गरेको २ करोड बजेटबाट धाब्लाङसम्म २३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम भएपछि बाटोको समस्या नहुने तर, पुल नबनेसम्म बोटोको औचित्य पनि नहुने उनले बताए । ‘यो वर्ष सडक स्तरोन्नतिको काम थालेका छौँ, अर्को वर्षभित्र कालोपत्रे गर्ने योजना छ’ प्रमुख प्रशासकीय अधिकृत वनले भने ‘तर, धाब्लाङमा पुल नबनेसम्म सडक मात्र बनाएर जनतालाई खासै फाईदा छैन ।’ 


गाउँपालिका उपाध्यक्ष गोमा मगरले पुल नबनेका कारण धेरै जनतालाई सास्ती भएको बताईन् । त्यहाँ पक्की पुलको सिल्यान्यास भएपछि सबैभन्दा बढी बाराहापाखेरीका जनता खुसी भएको स्मरण गर्दै मगरले तर, अहिलेसम्म पुल नबन्दा धेरै दुःखी भएको बताईन् । पुल नबन्दा गाउँलेलाई दैनिक उपभोग्य बस्तुदेखि निर्माण सामग्रीहरु गाउँपालिकासम्म ल्याउन धेरै समस्या भोग्नु परेको उनको भनाई छ । 


पुल निर्माण गर्ने ठेक्का रसुवा÷स्वच्छन्द÷पप्पु जेवीले ठेक्का लिएको छ । मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक २२ करोड ५ लाख रुपैंयाको पुल निर्माणको रेखदेख गर्ने जिम्मा पुल सेक्टर नं. १ इटहरीको हो । २ सय मिटर लामो पुलसँगै नदी किनारका दुवैपटि ५ सय मिटर एप्रोच नदी नियन्त्रणको काम पनि गर्नुपर्ने सम्झौता छ । तर, हालसम्म पुलको २ वटा आधाकल्चो पिल्लरबाहेक एप्रोच नदी नियन्त्रणको कुनै काम अघि बढेको छैन ।


बाराहापोखरी २ का वडाध्यक्ष अम्बरबहादुर मगरले निर्माण कम्पनीको चरम लापरबाहीले वडाबासी मात्र नभएर सिङ्गो खोटाङको दक्षिणी भेगका जनता समस्यामा पर्नु परेको बताए । वडाध्यक्ष मगरले बाराहापोखरीका ६ वटा वडाबाहेक छिमेकी खोटेहाङ गाउँपालिकाका ९ वडा र जन्तेढुंगा गाउँपालिकाका ६ वडाबासी नागरिक उत्तिकै समस्यामा परेको बताए । 


पुल सेक्टर नं. १ इटहरीका इन्जिनियर तथा पुलका साईट इन्चार्ज अजय साहले रोकिएको पुलको काम छिट्टै सुचारु गर्ने तयारी भईरहेको जानकारी दिए । तत्काल काम सुचारु गर्न मन्त्रालयले ठेकेदार कम्पनीलाई निर्देशन दिएको भन्दै उनले ठेकेदारले काम गर्ने यन्त्र उपकरण साईट पु¥याउन केहीदिन लाग्ने बताएको साहले जानकारी दिए । अहिले सामानहरु त्यहँ गईसकेको र काम सुचारु हुने तयारी भईरहेको पनि साहले बताए ।