४ सय किलो गाँजा र ६३ हजार नगदसहित ३ युवा पक्राउ

२0७८ फाल्गुन ५ बिहीबार
४ सय किलो गाँजा र ६३ हजार नगदसहित ३ युवा पक्राउ

उदयपुर

प्रहरीले ठूलो परिमाणको गाँजा र नगदसहित बिहीबार ३ युवालाई नियन्त्रणमा लिएको छ । विहान २ः१० बजेको समयमा बेलका नगरपालिका ८ को सिरुवानीबाट ४ सय किलो गाँजा र ६३ हजार नगदसहित युवाहरुलाई नियन्त्रणमा लिएको हो ।


गाँजा किनबेच भईरहेको भन्ने गोप्य सुराकीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेकोविशेष टोलीले १६ बोरा गाँजा बोकेको  को १ ज २७६१ नं. को महेन्द्र जिप पनि बरामद गरेको छ । 


मैनाराजा मैनारानी ढुवानी सेवा लेखिएको जीपलाई निलो त्रिपालले छोपेर लुकाईछिपाई राखेको गाँजासहित बेलका नगरपालिका नगरपापिलका ७ का २९ वर्षीय मनोज राई, गाडीधनी तथा चालक बेलका ८ का २७ वर्षीय गोकुल राई र सुनसरी बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


उनीहरुको साथबाट ६३ हजार २५ रुपैयाँ नगद, सामसुङ कम्पनीको सुनौलो रंगको स्मार्ट मोवाईल, रेडमि कम्पनीको हरियो रंगको स्मार्ट मोवाईल, रेडमि कम्पनीकै कालो रंगको स्मार्ट मोवाईल र नोकिया कम्पनीको कालो रंगको सादा मोवाईल पनि १÷१ थान बरामद भएको छ।    


जिल्ला प्रहरी कार्यालयले बिहीबार दिउसो पत्रकार सम्मेलन गरी पक्राउ व्यक्ति, बरामद नगद र गाँजा, जिप र सामग्रीहरु सार्वजनिक गरेको छ। पक्राउ तीनैजनालाई लागू पदार्थ गाँजा किनबेच सम्बन्धी अपराध मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।