उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक माओबादीमा प्रवेश 

२0७८ फाल्गुन ४ बुधबार
उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक माओबादीमा प्रवेश 

उदयपुर

उदयपुर सिमेन्ट उद्योग लि. जलजवलेका पूर्व महाप्रबन्धक (जिएम) नवलकिशोर साहलगायत नेपाली काँग्रेसका केही स्थापित नेताहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमका बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा साहलगायत नवप्रवेशी नेताहरुलाई स्वागत गरे । 


अध्यक्ष प्रचण्डले पूर्व जिएम साहलगायत काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्रीयस्तरका नेताहरूलाई अविर, माला र खादा ओढाएर पार्टीमा स्वगत गरेको उनका प्रेस सल्लाहकार रमेश मल्लले बताए । साहसँगै प्रवेश गर्ने अन्य नेताहरुमा काँग्रेस क्षेत्रीय प्रतिनिधि तथा भगवान नगरपालिकाका वडाध्यक्ष राजबाबु यादव, तरुण दल केन्द्रीय सदस्य लक्ष्मीनारायण यादव, क्षेत्रीय प्रतिनिधि तथा पूर्व वडाध्यक्ष इसराईल साफी र डा. निरजनारायण यादव रहेका छन् । 


लामो समयदेखि नेपाली काँग्रेसप्रति आस्था राख्दै आएका पूर्व जिएम साह ७ महिनाअघि मात्र उदयपुुर सिमेन्ट उद्योगबाट सेवा निबृत्त भएका थिए । पछिल्लो पहिचान र संघीयताको बाहक पार्टी भएको भन्दै उनी नेकपा माओबादीप्रति नजिकिदै गएका थिए । जागीरको क्रममा खुलेर राजनीति गर्न नमिल्ने भएकाले निबृत्त भएपछि पार्टी प्रवेश गरेको साहले बताए । 


आउँदो स्थानीयतहको चुनावमा खुलेर पार्टीलाई सहयोग गरेर माओबादी उम्मेदवारलाई जिताउने साहले बताए । तत्काललाई आफु कुनै लाभको पदमा जान नचाहेको भन्दै उनले आफ्नो नगरपालिकामा उठ्ने पार्टीका उम्मेदवारलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने बताए ।