महालक्ष्मी नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सिरक

२0७८ माघ २९ शनिबार
महालक्ष्मी नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सिरक

उदयपुर

धनकुटाको महालक्ष्मी नगरपालिकाले ज्येष्ठ नागरिक नगरबासीलाई फाइबर सिरक वितरण गरेको छ । जाडो यामबाट बचाउन बृद्धबृद्धालाई नगरक्षेत्रका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई शुक्रबार सिरक वितरण गरेको हो ।


नगरपालिकाले ७ नं. वडाबाट सिरक वितरण अभियान थालेको र १० जनालाई बितरण गरेको जनाएको छ । नगरप्रमुख पर्शुराम नेपालले सिरक बितरण कार्यक्रममा जाडो याममा बृद्धबृद्धा आमाबाउ कोही पनि कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण गरिएको बताए । ‘सबै बृद्धबृद्धासँग जाडो छल्न न्यानो लुगा नहुँन सक्छ, यस्तो अवस्थामा उहाँहरु कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण गरेका हौँ’ मेयर नेपालले भने ‘यहाँबाट सुरु भएको अभियान केही दिनभित्रै नगरक्षेत्रभरी पुग्नेछ ।’


महालक्ष्मी नगरमा ८० वर्षमाथिका करिब ३ सय ५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बताए । उनका अनुसार ती सबै जेष्ठ नागरिकले न्यानो सिरक पाउनेछन् । धेरै बृद्धबृद्धा हिड्न नसक्ने अवस्थमा भएकाले सकेसम्म उनीहरुको घरघरमै पुगेर नसके वडावडा पुगेर परिवारका सदस्य बोलाएर सिरक वितरण गर्ने नगरपालिकाले जनाएको छ ।


सिरक वितरण गर्न नगरपालिकाले वडा कार्यालयमार्फत ८० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरेको थियो । संकलित तथ्यांकका आधारमा सिरक वितरण कार्यक्रम थालिएको अधिकृत श्रेष्ठले बताए । मनपाले यसअघि पनि बृद्धबृद्धा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 


नगर सहायक महिला विकास निरीक्षक गीता लुइटेलले यसअघि नगरले स्वास्थ्य शिविर सञ्चालन गरेर बृद्धबृद्धालाई निःशुल्क दाँत लगाइदिएको बताईन् । साथै हिडडुल गर्न लौरो, शरिर तताउन हटव्याग पनि नगरले बितरण गरेको उनले बताईन् । 


बृद्धबृद्धाको अनुभव संकलन गदै्र्र त्यसलाई वर्तमान र भावी पुस्तालाई सुनाउने काम पनि नगरपले थालेको छ । बृद्धबृद्धाको उचित स्याहार सुसार गर्न आवश्यक्ता अनुसार विभिन्न गतिविधि गर्दै आएको नगरपालिकाले जनाएको छ ।