त्रियुगाले सुरु गर्यो भूमि आयोगको काम 

२0७८ माघ २६ बुधबार
त्रियुगाले सुरु गर्यो भूमि आयोगको काम 

उदयपुर


त्रियुगा नगरपालिकाले राष्ट्रिय भूमि आयोग नगर कार्यालय खोलेको छ । नगरपािलका वडा नं. १२ को कार्यालयमै नगर आयोगको कार्यालय खोलेर काम सुरु गरेको हो । 


वडा कार्यालय रहेको भवनको पहिलो तलामा स्थापना गरिएको आयोग कार्यालयको बुधबशार नगरप्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरी र राष्ट्रिय भूमि आयोग उदयपरका अध्यक्ष् बलबहादुर तामाङले संयुक्त रुपमा उद्घाटन गरे । 


उद्घाटनपछि बोल्दै मेयर चौधरीले आयोग कार्यालय भर्खर स्थापना गरिए पनि भूमिहीन तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीको जमिन व्यवस्थापन कार्य पहिलेदेखि नै भईरहेको बताए । उनका अनुसार नगरपालिकाले ३ वर्षअघि नै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका नगरबासीको दीर्घकालीन व्यवस्थापनका लागि काम गर्दै आएको स्मरण गराए । 


‘हामीले ०७६ सालमै यही भवनमा अव्यवस्थित बसोबास गर्ने नगरबासी तथा भूमिहीन र सुकुम्बासीको जमिन व्यवस्थापन गर्नेगरी कार्यालय खोलेर काम गर्दै आएका छौँ’ मेयर चौधरीले भने ‘त्यसबेला नगरपालिकाले भूमि व्यवस्थापनका लागि कार्यविधि पारित गरेरै काम थालेको थियो र धेरै काम भईसकेको पनि छ ।’ 


मेयर चौधरीले नगरका हरेक वडामा ऐलानी र अव्यवस्थित जमिनको नापी गर्ने काम भईरहेको बताउँदै अब सम्पूर्ण काम यही कार्यालयबाट हुने बताए । त्रियुगा नगरको सुकुम्वासी समस्या अव छिट्टै समाधान गर्ने आश्वासन दिदै मेयर चौधरीले भोग चलन गर्दै आएको जमिनको आधिकारिक स्वामित्व ग्रहण गराउने प्रतिबद्धता जनाए । 


त्रियुगा नगरपालिका सामाजिक विकास शाखाका संयोजक मानवहादुर राई, १२ नं वडाध्यक्ष जयबिक्रम राईलगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।