चौदण्डीगढी नगरपालिका नयाँ भवनमा, अरुको भवन के हुँदैछ

२0७८ माघ २३ आईतवार
चौदण्डीगढी नगरपालिका नयाँ भवनमा, अरुको भवन के हुँदैछ

उदयपुृर
चौदण्डीगढी नगरपालिकाले अन्य ७ वटा स्थानीयतहभन्दा अगावै प्रशासनिक भवन बनाउन सफल भएको छ । ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीयतहमध्ये चौदण्डीगढी सबभन्दा पहिले प्रशासनिक भवन बनाउन सफल भएको हो । 


आईतबारदेखि सञ्चालनमा आएको नयाँ प्रशासनिक भवनमा नगरपालिकाले संघीय सरकारसँगको साझेदारीमा ५ करोड ३८ लाख खर्चेको जनाएको छ । वडा नं. ७ बेलटार पारुहाङमार्गस्थित ८ कठ्ठा क्षेत्रफल जमिनमा साढे ३ तले अत्याधुनिक र सुविधा सम्पन्न भवन बनाउ ७ करोड ४८ लाखको लागत इस्टीमेट बनेको थियो । तर, निर्माण व्यवसायीबीचको प्रतिस्पर्धामा ५ करोड ३८ लाखमै ठेक्का सम्झौता भएर भवन निर्माण सम्पन्न भएको हो । 


नगरपालिकाका लेखापाल अमर थापामगरका अनुसार संघीय सरकारको राष्ट्रिय योजना आयोगले ५० प्रतिशत र नगरपालिकाले ५० प्रतिशत बजेट भवन निर्माणमा खर्च गरेका छन् । उनका अनुसार भवनको कम्पाउण्ड वाल, पार्किङ, लिफ्ट जडान र फर्निचर व्यवस्थापनमा थप ६० लाख खर्च भएको छ । 


नगरपालिका स्वयंले बेहोरेको कम्पाउण्ड वाल निर्माणमा १९ लाख, लिफ्ट जडान १९ लाख र फर्निचर २२ लाख गरी ६० लाख रुपैँया रहेको छ । सो रकम नगरपालिकाले आन्तरिक स्रोतबाट जुटाएको लेखापाल मगरले बताए ।


नगरपालिकाका इन्जिनियर सन्तोष राईका अनुसार वल्र्डवाईड–रामसागर जेवीले दुईवर्षभित्र निर्माण सक्ने गरी ०७७ जेठ २१ गते सम्झौता गरेर काम थालेको भवन एकवर्ष ८ महिनामै पुरा गरेको हो । ५२ वटा कोठा रहेको नवनिर्मित भवनको भुई तलामा न्यायिक समिति, सामाजिक विकास शाखा, राजश्व, महिला विकास, वैदेशिक रोजगार परियोजना (सामी), सहकारी र लघु उद्यम शाखा कार्यालयहरु छन् । 


पहिलो तलामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा, प्राविधिक, योजना, प्रशासन र जिन्सी शाखा राखिएको छ भने दोस्रो तलामा नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष तथा सभाकक्ष छ । तेस्रो तलामा शिक्षा तथा अन्य विषयगत समितिका कार्यालयहरु राखिएको इन्जिनियर राईले बताएका छन् । 


नगरपालिकाका सवइन्जिनियर जयनेन्द्र झाका अनुसार भवनका तीनै तलामा लिफ्ट जडान भएकाले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धा सेवाग्राहीलाई तलमाथि गर्न र सेवा लिन सहज हुने अपाङ्गमैत्री भवन बनेको झाले बताए । प्रत्येक तलामा महिला–पुरुषका लागि अलगअलग शौचालय, खानेपानी सुविधा रहेको पनि सबइन्जिनियर झा बताउँछन् ।  


प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यले प्रशासनिक भवन जिल्लामै पहिलो विद्युतीय भ¥याङ (लिफ्ट) जडान गरिएको एक मात्र कार्यालय भएको बताए । अहिलेसम्म उदयपुरका कुनै पनि सरकारी तथा नीजि भवनमा लिफ्ट जडान गरेको नपाइएको बताउँने आचार्यका अनुसार लिफ्टसहितको पहिलो भवन जिल्लामै चौदण्डीगढीको प्रशासनिक भवन हो । 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार दिउँसो एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरे । तथा उदयपुर निर्वाचन क्षेत्र १ का संघीय सांसदसमेत रहेका डा. खड्काले चौदण्डीगढी उदयपुरका ८ वटै स्थानीयतहमध्ये  अगुवा नगर भएको बताए । खड्काले चौदण्डीगढीले भौतिक पूर्वाधार निर्माण, सडक, विद्युत तथा खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा अग्रणी स्थान बनाउन सफल  भएको बताए । 


प्रशासनिक भवन पनि अन्य नगर तथा गाउँपालिकाभन्दा पहिल्यै बनाएर सफलता हासिल गरेकोमा उनले नगरप्रमुखलगायत जनप्रतिनिधिलाई धन्यबाद दिए । 
आगामी दिनमा पनि थप सफल बनाउन मन्त्री र सांसदको हैसियतले सक्दो पहल गर्ने प्रतिबद्धता पनि मन्त्री खड्काले व्यक्त गरे । 


प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले पनि चौदण्डीगढी नगरको प्रगितको मुक्त कण्ठले प्रशंसा गरेका थिए । 


कार्यक्रममा नगरप्रमुख खगेन्द्र राईले आफुहरुलाई मतदान गरेर जिताएका नगरबासीको चाहना र भावना अनुसार अहोरात्र विकास निर्माणमा खट्दै आएको बताए । जनताको विश्वास र आस्थालाई सँधै उचो राख्ने काम गर्न लागी पर्दै आएको भन्दै मेयर राईले चौदण्डीगढीलाई अन्य स्थानीयतहको दाँजोमा सँधै अगाडि बढाउन प्रयत्नसिल रहेको बताए । 


चुनाव जितेर आएको साढे ४ वर्ष अवधिमा नगरपालिकाले प्रशासनिक भवनसँगै उदयपुर कोविड अस्पताल भवन, १० वटै वडाको प्रशासनिक भवन, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय भवनहरु बनाईसकेको उनले जानकारी दिए । त्यस्तै सडक, सिंचाई, खानेपानी, विद्युतलगायत कार्यमा पनि उत्तिकै जिम्मेबारीपूर्वक काम गर्दै आएको मेयर राईको भनाई थियो । 


नगरपालिकाभित्रैे १५ शैय्याको आधारभूत अस्प्ताल सञ्चालन गर्नेगरी नयाँ भवन निर्माण कार्य पनि थालिएको उनले बताए । १८ करोड ५० लाख लागत मूल्यको प्राविधिक इस्टीमेट भएको भवन निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा १२ करोडमा ठेक्का लागेर काम सुरु भईसकेको राईले बताए । 


नगर कर्मचारी नेत्र विश्वकर्माले नयाँ भवन बनेपछि पर्याप्त कोठाको व्यवस्था भएपछि अव सेवाग्राहीलाई काम लिन सहज भएको बताए । यसअघि साविक बेलटार–बसाहा नगरपालिकाको ६ कोठे पुरानो भवनबाट दुःखले काम चलाउँदै आएको उनले स्मरण गरे । 


चौदण्डीगढीले नयाँ भवन बनाएर कार्यालय सञ्चालनमा ल्याईसक्दासम्म अन्य स्थानीयतहहरु के गरिरहेका छन् त ? प्रश्न उठ्नु स्वभाविक छ । बेलका नगरपालिकाको प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । कटारी र त्रियुगा नगरपालिकालाई भवनको अभाव छैन । साविककै नगरपालिका भवनबाट काम चलाउँदै आएको त्रियुगाले १५ करोड लागतमा वडा नंं. १० को बाँसबारीमा भवन बनाउने प्रक्रिया अघि बढाएको छ । 


कटारी नगरपालिका पनि साविक भवनबाटै कार्य सञ्चालन गर्दै आएको छ । कटारीले बसपार्कछेउमा एकतले भवन बनाईरहेकोमा नगरको क्षेत्र विस्तार भएसँगै बीच भागमा पर्ने गरी भवन बनाउने योजना अघि सारे पनि बिबादका कारण काम सुरु हुन सकेको छैन । 


गाउँपालिकातर्फ ताप्लीले बहुवर्षीय योजना अनुसार भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । दुईवर्षअघि नै साढे ३ तले आकर्षक भवन निर्माण गरिरहेको ताप्लीले यही वर्ष भवन सक्ने गरी काम भईरहेको अध्यक्ष उद्धवसिंह थापाले बताएका छन् । उता रौतामाई गाउँपालिकाले पनि युद्धस्तरमा भवन निर्माण कार्य गरिरहेको छ । 


रौतामाईले साढे ३ तले भवनको पहिलो तला ढलान गरेर दोस्रो तला ढलानको तयारी गरिरहेको अध्यक्ष गजेन्द्र खड्काले बताएका छन् । उनका अनुसार यसैवर्षको अन्तिमसम्ममा भवन बनाईसक्नेगरी काम भईरहेको छ । 


उता लिमचुङबु्ङ गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माण थालेको छ । दुई महिनाअघि थालेको भवनको जग (डिपिसी) ढलान सकेर गारोको काम सुरु भएको छ । लिमचुङबुङले पनि दुईवर्षभित्र सक्ने गरी साढे ३ तले भवन निर्माण थालेको प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताएका छन् ।