अज्ञात समूहको आगजनीबाट जीप र मोटरसाईकल खरानी

२0७८ माघ २0 बिहीबार
अज्ञात समूहको आगजनीबाट जीप र मोटरसाईकल खरानी

उदयपुृर

गाईघाटस्थित एक घरायसी ग्यारेजमा आगजनी हुँदा स्कारपियो र मोटरसाईकल खरानी भएको छ । बिहीबार विहान साढे १२ः०० बजेजस्तो समयमा त्रियुगा नगरपालिका ११, गाईघाट असारीलाईनस्थित कालीदास राई (किसन)को घरको ग्यारेजमा भएको आगलागीले स्कारपियो र मोटरसाईकल ध्वस्त भएका हुन् ।

 

ग्यारेजमा पार्किङ गरी राखेको प्रदेश १–०२–००२ च ४३८५ नम्बरको स्कारपियो र स ३ प २२८३ नम्बरको एभेन्जर मोटरसाईकल जले पूर्णरुपमा ध्वस्त भएका छन् । घरको दक्षिणपटि बनाइएको ग्यारेजमा राखिएका दुवै साधनलाई एकैचोटी आगोले भस्म बनाएको हो । 


विहान झण्डै १ः०० बजे मस्त निन्द्रामा रहेका बेला चर्को आवाज सुनेपछि व्युँझिएर हेर्दा धुँवाको मुस्लो देखेको राईले बताए । भुईमा झरेर हेर्दा ग्यारेजमा आगोको मुस्लो दन्किरहेको पाएपछि प्रहरी र दमकल बोलाइएको उनले बताए । प्रहरी घट्नास्थल आउँदासम्म दुवै साधन आगोले ध्वस्त बनाईसकेको उनले बताए । 


त्रियुगा नगरपालिकाले पठाएको दमकलले एकघण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । आगोले दुवै साधन काम नलाग्नेगरी ध्वस्त भएका छन् भने गाडी राख्ने ग्यारेजको टिनले छाएको छानो पनि क्षति गरेको छ । त्यस्तै ग्यारेजनजिकै रहेको चिरान काठहरुसमेत आगोले जलाएको छ ।


पीडित राईले झण्डै ६० लाख हाराहारी क्षति पुगेको बताएका छन् । एकवर्षअघि मात्र किनेको ५५ लाखको स्कारपियो जीप, ४ वर्षअघि किनेको साढे ३ लाखको एभेन्जर मोटरसाईकल, ग्यारेज र काठ जलेर नोक्सान भएको राईले बताए । 


आगो लाग्नुको कारण खुलेको छैन । विद्युत सर्ट भएर वा कसैको दुस्मनीका कारण आगो लगाएको हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले बताए । कसैल आगो लगाएको पनि हुनसक्ने वा विद्युत सर्ट भएर पनि हुने संभावना रहेको भन्दै बोहराले अनुसन्धानपछि मात्र भन्न सकिने बताए । 


प्रहरीले विहानै घट्नामा संलग्न भएको आशंकामा एक युवकलाई पक्राउ गरेको छ । सुनसरीको इनरुवा घर भई गाईघाटमा ज्यालादारी काम गर्ने गरेका उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी बोहराले बताएका छन् ।