एमसीसी पास नगर्दा केही फरक पर्दैनः हरिबहादुर बस्नेत

२0७८ माघ १९ बुधबार
एमसीसी पास नगर्दा केही फरक पर्दैनः हरिबहादुर बस्नेत

उदयपुृर

उदयपुरका पुराना नेता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हरिबहादुर बस्नेतले अमेरिकन सहयोग मिल्लेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास नगर्दा केही फरक नपर्ने बताएका छन् । बुधबार दिउँसो पत्रकारसँग भेटघाट कार्यक्रममा नेता बस्नेतले एमसीसी पास नभए मुलुकको अर्थतन्त्र ठप्प पार्ने भनेर एमालेले दिएको धम्की गलत भएको बताए । 


एमसीसी पास गर्दा राष्ट्रबादी हुने तर्क कसैले गरिरहेको र कसैले भने पास नगर्दा राष्ट्रवादी हुने कुरा गरिहेको भन्दै उनले दुवै तर्क व्यर्थ रहेको बस्नेतको भनाई थियो । बस्नेतले को राष्ट्रवादी र को होईन भन्ने कुरा जनताको काम कसले कसरी गर्छ भन्नेमा भर पर्ने बताए ।


निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाउने पार्टीको विधान परिवर्तन गर्न दिएको निर्देशनको बस्नेतले असहमति जनाए । ‘बहुलबादी व्यवस्थामा दुईतिहाई बहुमत ल्याएर संवैधानिक राजतन्त्र र हिन्दुराज्य ल्याउछाँै भन्न पाउने कि नपाउने ?’ बस्नेतले प्रश्न गरे ‘यसमा निर्वाचन आयोगले किन अवरोध गर्छ ?’ 


बोक्सेस्थित आप्mनै निवास वल्डदरबार होटलमा पत्रकार भेटघाट गर्दै पूर्वमन्त्री बस्नेतले नेपाललाई नेपाललाई धर्मनिरपेक्ष मुलुक र राजतन्त्र हटाउने कार्यमा युरोपियन युनियनको हात रहेको दावी गरे । बस्नेतको दावी थियो ‘यो सब काम नेपाली जनताले गरेको नभई युरोपियन युनियनबाट भएको हो ।’


अवको राजतन्त्रमा राजाले शासन नगरेर देशको संरक्षक वा अभिभावकको रुपमा रहने उनले बताए । 


आगामी चुनावमा उदयपुर १ बाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने तयारीस्वरुप उनले पत्रकार भेटघाट कार्यक्रम गरेको अनुमान गरिएको छ । बस्नेतले यसबारे प्रष्ट पार्दै पार्टीले टिकट दिए चुनाव लड्न आफु तयार रहेको पनि बताए । पहिलेदेखि नै उदयपुरबाट राजनीति गर्दै आएको बताउँदै उनले यसपटक पनि पार्टीले भनेमा चुनाव लड्ने बताए । 


पञ्चायतकालमा उदयपुुरबाट चुनाव जितेर राष्ट्रिय पञ्चायत सदस्य भएका बस्नेत पटकपटक महत्वपूर्ण मन्त्रालय सम्हाल्न पुगेका थिए । मन्त्री भएकै बेला जिल्लाबासीकै समस्याको रुपमा रहेको त्रियुगा नदीमा पुल बनाउन जनताले माग गरे बमोजिम निर्माण तथा यातायात मन्त्री हुँदा उनले त्रियुगामा कज–वे निर्माण गरेका थिए । 


हिउँदमा चिप्लो र वर्षामा बाढी नछेकिएपछि विपक्षीहरुले सो कज–वेलाई ‘पानी मुनिको पुल’ को संज्ञा दिदै बस्नेतको आलोचना गरेका थिए । अहिले पनि पानी मुनिको पुल बनाउने मन्त्री भनेर बस्नेतका आलोचकहरुले व्यंग्य गर्ने गरेका छन् ।