केएमसी देशकै सबभन्दा ठूलो र सस्तो आइसीयू सेवा प्रदायक अस्पताल बन्यो

२0७८ माघ १८ मंगलवार
केएमसी देशकै सबभन्दा ठूलो र सस्तो आइसीयू सेवा प्रदायक अस्पताल बन्यो

उदयपुर

काठमाडौं मेडिकल कलेज (केएमसी) नेपालकै सबभन्दा ठूलो र सस्तो सघन उपचारकक्ष (आईसियु) सेवाप्रदायक अस्पतालमा परिणत भएको छ । राजधानीको सिनामंगलमा रहेको केएमसीले हाल १ सय ६८ शैय्या (बेड) आईसियु कक्ष स्थापना गरेपछि देशकै ठूलो अस्पताल बन्न सफल भएको हो । 


अस्पताल प्रशासनले मंगलबार एक कार्यक्रमको आयोजना गरी १ सय ६८ बेड क्षमताको आइसीयूकक्षको औपचारिक उद्घाटन गरेको छ । कार्यक्रममा अस्पतालका प्रमुख सल्लाहकार डा.केपी शर्मा र निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरे । 


एकवर्षयता व्यवस्थापन फेरिएको केएमसीको अध्यक्षमा हाल पूर्वी नेपालकै प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मा रहेका छन् । उनले जिम्मेबारी सम्हालेयता केएमसीको सेवासुविधा बढ्दै गएको हो । पहिले ३४ बेड आईसियु रहेको अस्पतालमा अहिले १ सय ३४ बेड थपिएको हो । यति संख्यामा आईसियु थपिएसँगै केएमसी नेपालमै सबभन्दा बढी आईसियु कक्ष भएको अस्पताल बन्न पुगेको हो । 


कार्यक्रममा अध्यक्ष डा.शर्माले अब केएमसी नेपालकै सबभन्दा ठूलो आइसीयू सेन्टर भएको अस्पताल बन्न पुगेको जानकारी दिए । ‘अहिले हामीले १ सय ६८ बेड क्षमताको आइसियु कक्ष सञ्चालमा ल्याएका छौं’ डा. शर्माले भने ‘यति संख्यामा आईसियु भएको अस्पताल अहिलेसम्म नेपालका कुनै छैनन् ।’ सरकारी, सामुदायिक र नीजि कुनै अस्पतालमा यति धेरै आईसियु बेड नभएको डा. शर्माको दावी छ । 


केएमसीले यसअघि नेपालकै सबभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष  र बाल रोग सघन उपचार कक्ष (एनआइसियु) पनि सञ्चालनमा ल्याईसकेको छ । हाल अूस्पतालमा ६८ बेड जेनेरल आइसियु, ४० बेड एनआइसियु, २२ बेड पल्मो आइसियु, १२ बेड एमआइसियु, ११ बेड एसआइसियु, १० बेड पिआइसियु र ५ बेड न्यूरो आइसियु सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ । 


आइसियु सेवाको शुल्क पनि नेपालकै सबभन्दा सस्तो कायम गरिएको अस्पतालका महाप्रवन्धक (जिएम) नारायण दाहालले बताए । उनका अनुसार सरकारी अूस्पतालहरु वीर र सिभिलमा आईसियुको शूल्क २ हजार रहेकोमा केएमसीले १ हजार ९ सय रुपैया मात्र लिने गरेको छ । केएमसीले सरकारी र निजी अस्पतालभन्दा सस्तो आइसियु सेवा दिदै आउको दाहालले बताए । 


अस्पताल प्रशासनका अनुसार केएमसीमा ५८ वटा भेन्टिलेटर बेड सञ्चालनमा रहेको जनाएको छ ।