मदन भण्डारी सभाहललाई बजेट अभाव

२0७८ माघ १८ मंगलवार
मदन भण्डारी सभाहललाई बजेट अभाव

उदयपुर

गाईघाटमा निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभा भवन’ बजेट अभावमा अलपत्र परेको छ । त्रियुगा नगरपालिका १३ साविक हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरमा बन्दै गरेको भवन ०७४ वैशाख १० गते ठेक्का सम्झौता भएर काम अघि बढेको भए पनि रकम अभावले दुईवर्षयता काम अवरुद्ध हुन पुगेको हो । 


उदयपुरका लागि नमूना परियोजना मानिएको राष्ट्रिय गौरवको सभाभवनको झण्डै ८५ प्रतिशत काम सम्पन्न भईसकेको छ । बहुवर्षीय योजनाको पहिलो फेजको काम  युद्धस्तरमा हुँदाहुँदै पहिलो कोविड महामारी आईपरेका कारण केही समय काम अवरुद्ध भयो । कोविड कहरले गर्दा ०७८ माघ १० गतेसम्मका लागि सरकारले म्याद थपेको भवनको काम सकिइसके पनि थप बजेट व्यवस्था नभएपछि काम रोकिन पुगेको हो । 


म्याद सकिएको र काम पनि सकिइसकेकाले गर्दा ठेकेदार कम्पनीले अहिले निर्माणस्थलबाट क्याम्प हटाउन थालेको छ । रविना÷जोशी÷पवित्र जेवीले लिएको ठेक्का कवोल अनुसार काम सकिएको तर, थप कामको सुरसार नभएपछि क्याम्प हटाउन लागेको निर्माण कम्पनी प्रतिनिधि केदार दाहालले बताए । उनका अनुसार अहिलेसम्म थप बजेट निश्चित नभएपछि क्याम्प हटाउन लागिएको हो । 


दाहालका अनुसार ठेक्का सम्झौता अनुसार भवनको भौतिक संरचना निर्माण कार्य लगभग सकिएको छ । विद्युत ट्रान्समिटर राख्न र वईरिङलगायतका कामहरु मात्र बाँकी रहेको भवनको मुृख्य काम छानो (ट्रस) हाल्न बाँकी छ । जसका लागि भवन विभागले योजनाको भिओ (भेरिफिकेसन अर्डर) गर्नुपर्नेमा त्यो गर्न बाँकी रहेको छ । 


भिओ गर्न निर्माणको रेखदेख गर्ने जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजलले प्रक्रिया अघि बढाएको तर, मन्त्रालयमा पुगेर फाईल अडुकिएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना  प्रमुख (डिई) सचिन्द्रकुमार देवले भवन लगभग सकिइसकेको र ट्रसलगायत काम मात्र बाँकी रहेको बताए । 


कूल लागतको २५ प्रतिशत भिओ गरे भवनको बाँकी काम सक्न बजेट पुग्ने प्राविधिक इस्टीमेट रहेको भन्दै देवले २५ प्रतिशत भिओ गर्ने अधिकार मन्त्रालयका सचिवलाई मात्र रहेकाले आफुहरुले भनेर नहुने बताए । आयोजना कार्यालयले यसअघि नै प्राविधिक इस्टीमेट बनाएर २५ प्रतिशत भिओ गर्न अनुरोध गर्दै विभागमा पत्राचार गरेको र सो फाईल विभागबाट मन्त्रालय पुगिसकेको डिई देवको भनाई छ । 


कन्टीजेन्सी र मूल्यअभिबृद्धि कर (भ्याट) बाहेक २४ करोड ९ लाख ४१ हजार १ सय ८७ रुपैंया ६० पैसा लागत इस्टीमेटको भवन २३ करोड हाराहारीमा ठेक्का लागेको थियो । ठेकेदारले काम छिटै सम्पन्न गरे पनि अपुग बजेटको व्यवस्था नहुुँदा गाईाघाटको ‘आईकन प्रोजेक्ट’ मानिएको भवनको काम अधुरो हुन पुगेको हो । 


सहरी भवन विभागका भवन महाशाखा निर्देशक दिलिप भण्डारीले सभाभवनको काम बजेट अभावमा रोकिएको स्वीकारे । उनले भवनलाई पूर्णता दिन विभागले आवश्यक कागजात सघन कार्यालयसँग मागेर फाईल मन्त्रालय पठाईसकेको तर, मन्त्तालयबाट निर्णय हुन बाँकी रहेको बताए ।