राष्ट्रियसभा चुनावमा गठबन्धनलाई मतदान गर्न माओवादी प्रदेश १ को अपिल

२0७८ माघ ९ आईतवार
राष्ट्रियसभा चुनावमा गठबन्धनलाई मतदान गर्न माओवादी प्रदेश १ को अपिल

उदयपुर 

सत्तारुढ दलमध्येको एक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ ले आसन्न राष्ट्रिय सभा चुनावमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आव्हान गरेको छ । माघ १२ गते हुन गईरहेको राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन पार्टी प्रदेश १ कमिटीले आईतबार एक विज्ञप्ती जारी गरी अनुरोध गरेको हो । 


पार्टी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव
गणेश उप्रेती (शुशिल)ले विज्ञप्ती  जारी गर्दै स्थानीयतह प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलगायत सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई गडबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन् । 


१२ गते हुने निर्वाचनमा गठबन्धनको तर्फका उठेका उम्मेद्वारहरु नेपाली काँग्रेसका गोपालकुमार बस्नेतलाई रुख चिन्हमा, नेकपा एकीकृत समाजबादीका जयन्ती राईलाई कलम चिन्हमा र जनता समाजबादी पार्टीका हेमराज राईलाई छाता चिन्हमा मतदान गर्न विज्ञप्तमिा अपिल गरिएको छ । 


प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनअघि नै गठबन्धनका उम्मेद्वारहरुको पक्षमा सम्पूर्ण शक्ति लगाएर परिचालित हुन पनि पार्टी प्रदेश कमिटी हार्दिक आग्रह गर्दछ ।’ माओवादी केन्द्रले वर्तमान ५ दलीय गठबन्धन तथा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध शक्तिहरु यही गठबन्धनमा एकाकार बन्दै जाने अवस्था बनेको पनि विज्ञप्तीमा उल्लेख छ । 


प्रतिगमनको  विपक्षमा दृढतापूर्वक उभिएर मुलुकलाई संवैधानिक सर्वोच्चता, विधि र पद्धतिको माध्यमबाट अघि बढाउन दृढ संकल्पित तथा मुलुकको प्रगतिशिल रुपान्तरणका लागि प्रतिबद्ध गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा शानदार जीत हासिल गर्ने अपेक्षा विज्ञप्तीमा गरिएको छ । 


'यो गठबन्धनको एउटा मुख्य घटक दल नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटी आफ्ना सम्पूर्ण संयन्त्रलाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको पक्षमा परिचालित हुन निर्देश गर्दछ' विज्ञप्तीमा भनिएको छ ।