बिप्लब कार्यकर्ताले वैजनाथ खोलामा ह्युमपाईप लगाए 

२0७८ माघ ९ आईतवार
बिप्लब कार्यकर्ताले वैजनाथ खोलामा ह्युमपाईप लगाए 

कटारी

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाले कटारी नगरपालिका ६ र ७ मा पर्ने सोमबारेस्थित वैजनाथ खोलामा ह्युमपाईप राखेर कल्भर्ट निर्माण गरिदिएको छ ।  खोलामा पुल अभावमा स्थानीयलाई विहान बेलुका वारपार गर्न चिसो पानीमा चोपलिनुपर्ने बाध्यता अनत्य गर्न पार्टीले ह्यमपाईप राखिदिएको हो ।


वर्षभरी नै पानी बगिरहने उक्त खोलाले स्थानीयलाई वारपार गर्न पुल अभावमा चिसो पानीमा चोपलिनुपर्ने बाध्यता थियो । गाउँलेहरुलाई रिस्कुमा रहेको जनप्रेमी मावि, स्वास्थ्य चौकी, प्रहरी चौकी र बजार आउजाउ गर्न झण्डै १५ मिटर दुरी खोलाको पानीमा चोपलिनुपर्ने बाध्यता ह्युमपाईप राखेपछि अन्त्य भएको छ । 


पार्टीले आप्mनै प्रयासमा स्रोत जुटाएर खोलामा दुईवटा ह्युमपाईप बिछ्याएर दायाँबायाँ बालुवा गिटी पुरेर कच्ची सडक निर्माण गरिदिएको पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए । उनका अनुसार दुईवटा ह्युमपाईप खरिद गरेर खोलाकै ढुंगा, गिटी र बालुवा पुरेर दुईसय मिटर लम्बाई र ५ मिटर चौडाईको कच्ची सडकसहितको कल्भर्ट निर्माण गरिएको हो । 


कल्भर्ट बनाउन १५ घण्टा जेसिबी प्रयोग भएको छ भने सेक्रेटर पौड्यालसहित २१ जना नेता कार्यकर्ताले श्रमदान गरेका छन् । नगरपालिका र वडा कार्यालयलाई पटक पटक पुल लगाउन आग्रह गरे पनि जनताको कुरा नसुनेको भन्दै पार्टीले आफैले सो काम गरेको उनले बताए । 


ह्युमपाईप लगाइएपछि दुई वडाबासीलाई सोमबारे र रिस्कु आउजाउ गर्न सहज भएको छ । विद्यार्थीलाई विहान बेलुका पानीमा अनिवार्य चोपलिनुपर्ने बाध्यता हटेको छ भने दुवै वडाबासीलाई प्रहरी चौकी र स्वास्थ्य चौकी धाउन सहज भएको छ । 


कल्भर्ट बनेपछि हिउद याममा खोला तर्ने समस्या टरेको छ भने वर्षा लागेपछि पुनः समस्या ज्युँका त्युँग हुने भएकाले दीर्घकालीन समाधानका लागि पुल निर्माण गर्नुको बिकल्प नरहेको स्थानीय बताउँछन् ।