ह्वात्तै बढ्यो कोविड, उदयपुरमा ८० महिलासहित २ सय १४ संक्रमित

२0७८ माघ ६ बिहीबार
ह्वात्तै बढ्यो कोविड, उदयपुरमा ८० महिलासहित २ सय १४ संक्रमित

उदयपुर

उदयपुरमा एकैदिन ७१ जनामा कोविड संक्रमण पुष्टि भएको छ । बिहीबार १ सय १९ जनाको एन्टीजेन परीक्षण गर्दा ७१ जना संक्रमित पाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

 
यो सहित जिल्लामा ओमिक्रोन पोजेटिभ संक्रमितको संख्या ८० महिलासहित २ सय १४ जना पुगेको छ । हालसम्म जिल्लाभरी ३ सय ३८ जनाको एन्टीजेन्ट परीक्षणमा २ सय १४ जनाको रिपोट पोजेटिभ आएको हो ।


संक्रमण देखा पार्न थालेपछि गत पुस २७ गतेदेखि स्वास्थ्यले परीक्षण कार्य थालेको हो । जसमा हालसम्म १ सय ४४ महिला र १ सय ९४ पुरुष गरी जम्मा ३ सय ३८ जनाको परीक्षण गरिएको छ । परीक्षण जिल्ला अस्पताल, त्रियुगा नगरपालिका, चौदण्डीगढी, कटारी र बेलकामा गरिदैछ । 


जिल्ला अस्पतालको परीक्षणमा २६ महिलासहित ९० जना संत्रमित देखिएका छन् भने त्रियुगा नगरपालिकामा २८ महिलासहित ५२ फेला परेका छन् । त्यस्तै, कटारीमा १२ महिलासहित ३२, चौदण्डीगढीमा ५ महिलासहित १६ र बेलकामा ९ महिलासहित २३ जना संक्रमित पाइएको छ । 


जिल्लाका ८ स्थानीयतहमध्ये ४ नगरपालिका र १ गाउँपालिकामा संक्रमण देखिएको छ । उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको छ । संक्रमण दर सदरमुकाम त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरमा बढी देखिएको छ । बाँकी ३ गाउँपालिकाहरु रौतामाई, ताप्ली र लिम्चुङबुङमा संक्रमण अहिलेसम्म नदेखिएको स्वास्थ्यले जनाएको छ ।


संक्रमितालई अहिले होम आईसोलेसनमै बस्न भनिएको छ । गतवर्षको कोविड संक्रमित निको भएपछि एकमहिनाअघि मात्र रित्तिएको चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित ‘उदयपुर कोविड अस्पताल’ भने पुन सञ्चालनमा आएको छ । त्यहाँ अहिले १ पुरुष र ५ महिलासहित ६ जना आईसोलेसनमा राखिएको छ । 


सबै संक्रमित निको भएर घर फर्केपछि गत मंसिर २६ गतेदेखि बन्द भएको अस्पताल माघ ४ गतेदेखि सुचारु भएको अस्पतालका फोकलपर्सन तेजबहादुर पोखरेलले बताए । ०७५ वैशाख ५ गतेदेखि उदयपुमरा पहिलोपटक कोविड महामारी फैलिएपछि जिल्लाका ८ वटा स्थानीयतहहरुले आफ्नै पहलमा सो अस्पताल सञ्चालन सुरु भएको हो । 


उदयपुर विकास बोर्डमा आबद्ध जिल्लाका ४ नगरपालिका हरेकले १५ लाख र ४ गाउँपालिकाले १० लाखका दरले जम्मा गरेको १ करोड बजेटबाट सुरु अस्पताल गतवर्ष स्वीस सरकारले डेढकरोड सहयोग गरेपछि २२ कोठे भवन बनेको छ । अस्पताल निर्माण भएप्छि गतवर्षदेखि स्थानीय बिरामीले यहीबाट उपचार पाईरहेका छन् ।